
-गोपाल बराल
बर्दिबास- ‘हाम्रो माया घर’ निर्माणार्थ महोत्तरीको बर्दिबासमा आयोजना हुने शिवपुराण महायज्ञको तयारी अघि बढेको छ । अनाथ बालबालिका र सडक मानव व्यवस्थापनका लागि महोत्तरीको बर्दिबास-२ मा निर्माण हुने ‘हाम्रो माया घर’ को सहयोगार्थ आयोजना हुन लागेको महायज्ञ तयारीबारे आज बुधबार शिवपुराण आयोजक समितिले पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएको हो ।
‘हाम्रो माया घर’ बर्दिबासमा १० करोड ६९ लाख ४५ हजार ४७७ को लागतमा निर्माण हुन लागेको हाम्रो माया घर बर्दिबास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । यसको निर्माणमा सहयोग गर्ने उद्देश्यले यही साउन २१ देखि २९ सम्म बर्दिबास-१ मा आयोजना हुने शिवपुराण महायज्ञको तयारीबारे पत्रकार भेटघाट कार्यक्रममा महायज्ञ व्यवस्थापन मूल समितिका अध्यक्ष हिरालाल गौतमले यस प्रयोजनका लागि १९ वटा उपसमितिले काम गरीरहेका जानकारी दिनुभयो ।
महायज्ञ तयारी र यसको प्रचारप्रसारका लागि बर्दिबास र छिमेकको मिथिला नगरपालिकाका बस्तीबस्तीमा हालसम्म ५० वटा टोल समिति कृयाशील भइसकेका कार्यक्रममा जानकारी दिइएको छ । ‘हाम्रो माया घर’ निर्माणका लागि दाताबाट करिब एक करोड ५० लाख मूल्यको जग्गा प्राप्त गरी सोको पक्की घेराबेराको पर्खाल लगाइ सकिएको हाम्रो माया घर बर्दिबास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले स्पष्ट पार्नुभयो । बालबालिका र अपाङ्गता मैत्री तथा भूकम्प प्रतिरोधी अत्याधुनिक हाम्रो माया घरका दुई वटा भवन बन्ने विस्तृत परियोजना प्रस्ताव छ । खानेपानी धारा, बिजुली र शौचालय सुविधासहितका दुई भवनमध्ये एउटा दुई तले र अर्को चारतलेमा गरी १२ कोठा हुनेछन् । जसमा सभा भवन, कृडाकक्ष र अध्ययनकक्ष छन् । जम्मा २०० सडक मानव र अनाथ बालबालिकाको बसोबास, खानपान, स्वास्थ्योपचार र सम्भव भएसम्म शिक्षाको प्रबन्धसमेत गरिने समितिले जनाएको छ ।
शिवपुराण महायज्ञमा दैनिक सात हजार स्रोता सहभागी हुने व्यवस्थापन समितिको अनुमान छ । महायज्ञ र भवन निर्माणका लागि विभिन्न दाताबाट सहयोग प्राप्त हुने क्रम चलेको हुँदा अब चाँडै भवन बन्न सुरु हुने महायज्ञ व्यवस्थापन समितिका सचिब तथा प्रवक्ता चेतकुमार थापाले बताउनुभयो ।

‘हाम्रो माया घर’निर्माणका लागि सहयोगका प्रतिबद्धता प्राप्त भइरहेको अध्यक्ष कृष्णप्रसाद गौतमको भनाइ छ । “दिनदिनै दाताहरुले सहयोगको प्रतिबद्धता व्यक्त गरीरहनु भएको छ, हामी उत्साहित छौं” अध्यक्ष गौतम भन्नुहुन्छ, “महोत्तरी र छिमेकी जिल्लाका स्थानीयतह र मधेश प्रदेश सरकारबाट पनि सहयोगको आश्वासन पाएका छौं । स्थानीयतहहरु र मधेश प्रदेश सरकारको सहयोगको कुरा अहिले निणर्यको चरणमा रहेका कार्यक्रममा जानकारी दिइएको छ । अहिले महायज्ञसँग जोडेर दाताहरुबाट प्राप्त सहयोगले काम थालिने तयारी रहेको सचिब थापाले स्पष्ट पार्नुभयो ।
आफ्नो ठाउँमा ‘हाम्रो माया घर’ बन्ने कुराले बर्दिबास क्षेत्रमा उत्साह बढ्दो छ । अहिले ‘हाम्रो माया घर’ निर्माणार्थ सहयोगका लागि आयोजना गरिन लागिएको महायज्ञबाट अहिलेसम्म प्राप्त प्रतिबद्धताअनुसार करिब दुई करोड सहयोग प्राप्त हुने महायज्ञ व्यवस्थापन समितिले जनाएको छ । महायज्ञ आयोजना गर्न २५ लाख खर्च हुने सचिब थापाले बताउनुभयो ।
साउन शिवभक्तिको महिमा गाइने महिना मानिदै आइएको छ । अहिले यसै महिनाको छनौट गरी आयोजना हुन लागेको शिवपुराण महायज्ञ सफल हुने आयोजक बताउँछन् ।
प्रसिद्ध पुराण वाचिका राधिका दासी मुख्य संरक्षक रहनु भएको हाम्रोे माया घर निर्माण सम्पन्न हुन पाँच वर्ष लाग्ने समितिले जनाएको छ । ‘हाम्रो माया घर’ निर्माणार्थ सहयोग गर्न आयोजना गरिने शिव पुराणमा पाठ पारायण र कथा वाचन प्रसिद्ध पुराण वाचिका राधिका दासी नेतृत्वको १५ सदस्यीय पण्डित टोलीले गर्ने शिवपुराण महायज्ञ व्यवस्थापन समितिले आज स्पष्ट पारेको छ । आफ्नै भवन तयार भएर सञ्चालन हुन अघि पनि अनाथ बालबालिका र सडक मानवको अभिभावकत्व भने समितिले लिइरहने र त्यस समयसम्मका लागि इटहरीस्थित माया घरमा व्यवस्थापन गरिने हाम्रो माया घर बर्दिबास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले स्पष्ट पार्नुभयो ।
