जनकपुरधाम । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले धेरै परिवारको जीवनमा अकल्पनीय पीडा थप्यो। कतै आफन्त गुमे, कतै घरबार बग्यो। तर जनकपुरकी पूजा शाहका लागि त्यो दिनदेखि समय रोकिएको जस्तै भएको छ। उनका लागि हरेक बिहान एउटै प्रश्न लिएर आउँछ—‘मेरो श्रीमान् अजय कहाँ छन् ?’
बाढी आएको २५ दिन बितिसकेको छ। तर धनुषाको कमला नगरपालिका–६ का ३० वर्षीय इन्जिनियर अजयप्रसाद सिंहको कुनै खबर छैन। रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत सिंह बाढीपछि सम्पर्कविहीन भएका हुन्।



दिन बित्दै जाँदा अजय फर्किने आशा भने पूजाले अझै छाडेकी छैनन्। बरु प्रत्येक दिन ढोकातिर हेर्दै, फोन बज्दा झस्किँदै र कुनै खबर आउला कि भन्दै उनी पर्खिरहेकी छन्।
‘भगवान्, साँच्चिकै तिमी छौ भने मेरो यो पुकार किन सुनिरहेका छैनौ ?’ पूजाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यति धेरै दिनदेखि तिमीलाई पुकारिरहेकी छु, रोइरहेकी छु, प्रार्थना गरिरहेकी छु। मेरो बुढो २५ दिनदेखि बेपत्ता छन्।’
उनका लागि २५ दिन केवल पात्रोमा थपिएका केही मिति होइनन्। ती २५ दिन अनिश्चितता, आशंका, प्रार्थना र प्रतीक्षामा बितेका छन्। श्रीमान्को अवस्था थाहा नहुँदा हरेक क्षण भारी बनेको उनी बताउँछिन्।
‘अब त यो पीडाले सास फेर्न पनि गाह्रो भइरहेको छ,’ उनले लेखेकी छन्।
पूजाको चाहना ठूलो छैन। श्रीमान् सकुशल फर्किऊन्, यति मात्रै उनको प्रार्थना छ। धन, सम्पत्ति वा अन्य कुनै चाहना नरहेको बताउँदै उनले भगवान्सँग आफ्नो ‘मान्छे’ मात्र फर्काइदिन आग्रह गरेकी छन्।
‘मसँग केही माग छैन, केही चाहिएको छैन—मलाई मेरो मान्छे मात्र फर्काइदेऊ,’ उनले लेखेकी छन्, ‘जहाँ छन्, जसरी छन्, सुरक्षित राखेर मेरो अगाडि ल्याइदेऊ।’
पूजाका लागि अजय केवल श्रीमान् होइनन्, उनीहरूको सानो परिवारको केन्द्र हुन्। उनीहरूको सानो संसारमा एउटी छोरी पनि छिन्। छोरीले अझै बाबाको बाटो हेरिरहेकी छन्।
‘मेरो छोरीलाई उसको बाबा चाहिएको छ, मलाई मेरो बुढो चाहिएको छ। हाम्रो सानो संसार फेरि पूरा गरिदेऊ,’ पूजाको प्रार्थना छ।
श्रीमानको अवस्थाबारे लामो समयसम्म कुनै जानकारी नआएपछि आफू मानसिक रूपमा निकै कमजोर बन्दै गएको उनले बताएकी छन्। अनिश्चितताको यो घडीमा कहिलेकाहीँ मनले हार मान्न खोजे पनि छोरीकै अनुहार हेरेर आफूलाई सम्हालिरहेको उनको भनाइ छ।
‘यस्तो अनिश्चितता र तड्पाइमा जीवन बिताउनुभन्दा मेरो मनले हार्न खोज्छ,’ उनले लेखेकी छन्, ‘तर मेरी छोरीलाई हेरेर म आफूलाई सम्हालिरहेकी छु।’
पूजाको मोबाइलमा आउने प्रत्येक फोन अब एउटा सम्भावना बनेको छ। कुनै अपरिचित नम्बर देखिँदा पनि कतै अजयको खबर त होइन भन्ने आशा जाग्छ। तर खबर नआउँदा फेरि उही प्रतीक्षा सुरु हुन्छ।
बाढीले अजयलाई कहाँ पुर्यायो, उनी जीवित छन् कि छैनन्, सुरक्षित स्थानमा छन् कि छैनन्—यी प्रश्नको उत्तर अहिलेसम्म पूजासँग छैन। तर उत्तर नपाउँदा पनि उनले आशा भने छाडेकी छैनन्।
‘मेरो मान्छे जहाँबाट भए पनि फर्काइदेऊ,’ उनको भावुक अपिल छ, ‘मेरो छोरीको बाबालाई उसको काखमा फर्काइदेऊ। मेरो संसारलाई फेरि मेरो अगाडि उभ्याइदेऊ।’
भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका थिए। उनीहरूको खोजीका लागि आयोजनाका प्रतिनिधिसहित विभिन्न निकायको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ।
तर खोजी टोलीले आफ्नो काम गरिरहँदा जनकपुरमा एउटी पत्नी र एउटी छोरीको प्रतीक्षा पनि जारी छ—कुनै दिन ढोका खुल्नेछ र अजय सकुशल फर्केर आउनेछन् भन्ने आशामा।
पूजाका लागि अहिले भगवानसंग एउटै प्रार्थना छ—‘मेरो मान्छे फर्काइदेऊ।’




