महोत्तरी – नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत औरही नगर कार्यसमिति गठनका लागि भएको छलफलबाट मैथुल प्रसाद यादव नगर सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ।
औरही नगर कार्यसमितिका सभापति योगेन्द्र यादव र मतदान अधिकृतको रोहबरमा भएको छलफलबाट यादवलाई नगर सभापतिमा सर्वसम्मत चयन गरिएको हो। नगर कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यको चयन भने बुधबार हुने अधिवेशनबाट गरिने जनाइएको छ।




नगर सभापतिमा चयन भएपछि यादवले आफूलाई सर्वसम्मत जिम्मेवारी दिएकोमा पार्टीका नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्दै सबै पक्षलाई समेटेर संगठनलाई वडा र टोल तहसम्म थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले पार्टीभित्रको एकता, सहकार्य र समन्वयलाई प्राथमिकता दिँदै संगठनात्मक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता महेन्द्रकुमार रायले पार्टी संगठनलाई वडा तहदेखि नै व्यवस्थित र सक्रिय बनाउनुपर्ने बताउनुभयो। उहाँले नेता तथा कार्यकर्ताबीच आपसी समन्वय र सहकार्य कायम गर्दै संगठनलाई जनतासँग जोड्नुपर्नेमा जोड दिनुभयो।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुनिलकुमार यादवले गाउँ, वडा र टोल तहसम्म संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले आन्तरिक एकता र अनुशासन कायम राख्दै जनताका समस्या र आवश्यकतासँग जोडिएर पार्टीका गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो।
क्षेत्रीय सभापति उतिम राय यादवले वडा तहबाटै संगठनात्मक गतिविधिलाई सक्रिय बनाउनुपर्ने बताउनुभयो। उहाँले कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउँदै संगठन विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

मधेश प्रदेश कमिटी सदस्य नरेन्द्र यादवले पार्टीको संगठनलाई वडा तथा टोल तहसम्म विस्तार र सुदृढीकरण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय जनताका समस्या र आवश्यकतालाई पार्टीका गतिविधिसँग जोडेर अघि बढ्नुपर्ने बताउनुभयो।
नगर सभापति योगेन्द्र यादवले मैथुल प्रसाद यादवको सर्वसम्मत चयनलाई पार्टीभित्र सहमति र सहकार्यको अभ्यासका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले आगामी दिनमा सबै पक्षलाई समेटेर नगर संगठनलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा नेपाली काँग्रेसका नेता महेन्द्रकुमार राय, केन्द्रीय सदस्य सुनिलकुमार यादव, क्षेत्रीय सभापति उतिम राय यादव, मधेश प्रदेश कमिटी सदस्य नरेन्द्र यादव, नगर तथा वडा सभापतिलगायत नेता तथा कार्यकर्ताको सहभागिता थियो।
औरही नगरपालिका–१ देखि ९ सम्मका वडा सभापति तथा वडा कार्यसमितिका पदाधिकारी र सदस्यसमेत कार्यक्रममा सहभागी भएका थिए। नगर कार्यसमितिका बाँकी पदाधिकारी तथा सदस्यको चयन बुधबार हुने अधिवेशनबाट गरिने जनाइएको छ।








