नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन जारी छ । ७ असोजमा पालिका अधिवेशन र १० असोजमा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ । प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने व्यवस्था कांग्रेसको विधानमा छ ।
कांग्रेसको विधान २०१७ (११औँ संशोधन, २०८२) ले पार्टीलाई वडा तहदेखि केन्द्रीय तहसम्म सातवटै सांगठनिक तहमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्ने व्यवस्था गरेको छ । वडा तहबाट चुनिएका क्रियाशील सदस्यहरूले क्षेत्रीय प्रतिनिधि चयन गर्छन्, क्षेत्रीय प्रतिनिधिहरूले नगर समिति, क्षेत्रीय समिति, जिल्ला समिति, प्रदेश महाधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्छन् ।



कांग्रेसको महाधिवेशन प्रतिनिधि बन्न क्रियाशील सदस्य बन्नुपर्ने हुन्छ । विगतमा केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था रहे पनि गत पुसमा भएको विशेष महाधिवेशनले विधान संशोधन गरेर केन्द्रीय नेतालाई पनि वडाबाटै प्रतिनिधि बनेर आउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
कांग्रेसको विधानअनुसार वडा अधिवेशनबाट क्रियाशील सदस्य संख्याका आधारमा क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू चयन हुन्छन् । १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडाको अधिवेशनले क्रियाशील सदस्यमध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तीमा तीन जना महिला, एक श्रमिक वा पेसागत क्षेत्रसहित नौ जना क्षेत्रीय प्रतिनिधिहरू चयन गर्न सक्छ ।
त्यस्तै, ३० वर्ष उमेर नपुगेका एक महिलासहित तीन युवालाई पनि क्षेत्रीय प्रतिनिधिका लागि वडा अधिवेशनले प्रत्यक्ष निर्वाचित गर्नुपर्ने व्यवस्था विधानमा छ ।
त्यस्तै, १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ५५ को सीमाभित्र रहेर प्रति १५० थप क्रियाशील सदस्यमा दुई महिला र एक युवासहित छ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्न सक्ने व्यवस्था छ ।
महिला, दलित, आदिवासी जनजाति, खस–आर्य, मधेशी, थारू, मुस्लिम, अल्पसंख्यक, पिछडिएको क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने सदस्य संख्याको ५० प्रतिशत संख्यामा वडाको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा तोकिएबमोजिम प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधानमा उल्लेख छ ।
अपांगता भएका र दलित क्रियाशील सदस्यमध्येबाट एक–एक जना प्रतिनिधि हुनेछन् । कांग्रेसको वडा कार्यसमिति सभापति पदेन क्षेत्रीय अधिवेशन प्रतिनिधि हुने व्यवस्था विधानमा छ ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले आफूबाटै केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने व्यवस्था कांग्रेसको विधानमा गरिएको छ । वडाबाट छनोट भएर आएका व्यक्तिहरूले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन् ।
विधानअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रतिनिधिहरू प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका सदस्यहरू हुन्छन् ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा १४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था छ । यसमा समावेशी बनाउनुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । कम्तीमा चार जना महिला निर्वाचित हुनुपर्ने व्यवस्था छ । त्यस्तै, श्रमिक, पेसागत क्षेत्र वा विषयविज्ञबाट दुई जना, ३५ वर्षमुनिका युवाबाट एक महिलासहित तीन जना तथा अपांगता भएका व्यक्तिबाट एक जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ ।
कांग्रेसले विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी समूहबाट पनि महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, १० जना महाधिवेशन प्रतिनिधिहरू प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जनसंख्याको बनोटअनुसार तोकिएको समानुपातिक आधारमा निर्वाचित गर्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ, जसअन्तर्गत महिला, मधेशी दलित, आदिवासी जनजाति, खस–आर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।
कांग्रेसको विधानअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापति र गाउँ–नगरपालिका कार्यसमितिका सभापति भने पदेन केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । यो विशेष महाधिवेशनबाट गरिएको नयाँ व्यवस्था हो ।
१४औँ महाधिवेशनमा गाउँ/नगरपालिका कार्यसमितिका सभापतिलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिको हैसियत सिधा दिइएको थिएन ।
त्यस्तै, प्रदेश अधिवेशनको लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले नै प्रदेश अधिवेशनको प्रतिनिधि हुनेछन् ।
१४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवार हुन पार्टीको क्रियाशील सदस्यता प्राप्त गरेको चार वर्ष पूरा हुनुपर्ने प्रावधान थियो । योपटक सो प्रावधान हटेको छ ।
‘केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित सात जना, पैँतीस वर्ष ननाघेका युवा एक जना र महिला, दलित, आदिवासी जनजाति, खस–आर्य, मधेशी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रबाट चार जना प्रतिनिधिसभा क्षेत्रको जनसङ्ख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा केन्द्रीय महासमिति सदस्य निर्वाचित गर्नेछ,’ विधानको धारा ११ को उपधारा ३ (क) मा भनिएको छ ।
उपधारा ३ (ख) ले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति पदेन महासमिति सदस्य हुने व्यवस्था गरेको छ । त्यस्तै, कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महासमिति सदस्यहरू पनि चयन हुने व्यवस्था छ ।
त्यस्तै, विदेशस्थित जनसम्पर्क समितिको लागि क्रियाशील सदस्यताको संख्याको आधारमा महाधिवेशन प्रतिनिधि तय हुने व्यवस्था छ । एक सय क्रियाशील सदस्यता रहेको देशबाट जनसम्पर्क समितिको अध्यक्ष वा एक जना मात्रै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन सक्नेछन् ।
पाँच सय वा सोभन्दा बढी क्रियाशील सदस्यता भएका देशबाट अध्यक्षसहित सात जनाले महाधिवेशन प्रतिनिधि हुने अवसर पाउँछन् ।
दुई हजार वा त्योभन्दा बढी क्रियाशील सदस्य भएको देशबाट अध्यक्षसहित १४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन पाउँछन् ।
केन्द्रीय कार्यसमितिले विदेशस्थित जनसम्पर्क समितिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि संख्या तोक्दा एउटा देशबाट बढीमा १४ जनाको सीमा राखिएको छ ।
महाधिवेशन प्रतिनिधिमा सभापतिलाई मनोनीत गर्ने अधिकार दिएको छ । सभापतिले क्रियाशील सदस्यबाट बढीमा ७५ जनालाई केन्द्रीय महाधिवेशन प्रतिनिधि मनोनीत गर्न पाउँछन् ।
सभापतिले मनोनीत गर्दा पनि समावेशीलाई ध्यान दिनुपर्नेछ । सभापतिले महाधिवेशन प्रतिनिधि मनोनीत गर्दा महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, खस–आर्य, अपांगता भएका, अल्पसंख्यक वा पिछडिएको क्षेत्र, तेस्रोलिंगी, अन्य पेसा–व्यवसाय र विषयमा विज्ञको रूपमा क्रियाशील रहेका विशिष्ट व्यक्ति एवम् लोकतन्त्र स्थापना र पुनर्स्थापनाको आन्दोलनमा सहभागी भएका व्यक्तिमध्येबाट प्राथमिकता दिनुपर्नेछ ।
कांग्रेसको केन्द्रीय महाधिवेशनमा भ्रातृ तथा शुभेच्छुक संस्थाबाट पनि महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने व्यवस्था गरेको छ । भ्रातृ संस्थाबाट कम्तीमा पाँच र शुभेच्छुक संस्थाबाट कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधिका रूपमा महाधिवेशनमा सहभागी हुन पाउँछन् ।
बढ्दै छ महाधिवेशन प्रतिनिधि संख्या
मंसिर २०७८ मा भएको १४औँ महाधिवेशनमा कांग्रेसमा ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि थिए । आगामी १६ देखि १९ असोजमा हुने १५औँ महाधिवेशनमा ७ हजार हाराहारी महाधिवेशन प्रतिनिधि हुने केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।
७५३ पालिका सभापति र ३३० प्रदेशसभा क्षेत्रीय समितिका सभापति पदेन महाधिवेशन प्रतिनिधि हुने भएपछि सो संख्या बढ्नेछ । यसअघि १६५ प्रतिनिधिसभा क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २६ जनाका दरले महाधिवेशन प्रतिनिधि छानिन्थे । अहिले त्यो व्यवस्था बदलेर ३३ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने व्यवस्था गरिएको छ ।
अहिले एक प्रतिनिधिसभा क्षेत्रबाट ७ जनाका दरले बढ्दा र पालिका र प्रदेशसभा क्षेत्रीय समिति सभापति थपिँदा विगतको तुलनामा १ हजार ७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि थपिनेछन् ।
विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था, शुभेच्छुक संस्थालगायतबाट पनि महाधिवेशन प्रतिनिधि सहभागी हुँदा ७ हजार हाराहारी पुग्ने देखिएको हो ।
१५० क्रियाशील सदस्यको सिलिङका आधारमा १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ५ हजार ४४५ जना, प्रदेशसभा क्षेत्रका पदेन प्रतिनिधि ३३० जना र पालिका सभापतिबाट ७५३ जना महाधिवेशन प्रतिनिधि तथा विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट आउने प्रतिनिधि थपिएपछि संख्या बढ्ने देखिएको हो ।




