महोत्तरी – प्रतिकूल मौसमको जोखिमलाई मध्यनजर गर्दै महोत्तरीको गौशाला नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालय दुई दिनका लागि बन्द गरिएका छन्।
बुधवार एक सूचना जारी गर्दै नगरपालिकाले असोज ८ र ९ गते नगर क्षेत्रका सामुदायिक, संस्थागत (निजी) तथा धार्मिक विद्यालयहरूमा पठनपाठन बन्द रहने जानकारी दिएको हो।



जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली तथा सम्भावित चक्रवातको प्रभावले मधेश प्रदेशलगायत देशका विभिन्न क्षेत्रमा भारी वर्षा, हावाहुरी, बाढी तथा डुबानको उच्च जोखिम रहेको छ। सोही जोखिमलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
खराब मौसमका कारण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको आवतजावतमा कठिनाइ हुनुका साथै सुरक्षा जोखिमसमेत बढ्न सक्ने भएकाले पठनपाठन स्थगित गरिएको सूचनामा उल्लेख छ।
नगरपालिकाले सम्बन्धित सबै विद्यालयलाई यो निर्णय कडाइका साथ कार्यान्वयन गर्न तथा विद्यार्थी, शिक्षक र अभिभावकलाई आवश्यक सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।




