मधेश प्रदेश सरकारले सीमा सुरक्षा तथा अपराध नियन्त्रणमा परिचालन सहज बनाउन सशस्त्र प्रहरी बललाई २० थान मोटरसाइकल प्रदान गरेको छ ।
प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बिहीबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री फकिरा महतोले सशस्त्र प्रहरी बल नेपालका मधेश प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई मोटरसाइकलको साँचो तथा आवश्यक कागजात हस्तान्तरण गर्नुभयो ।



गृहमन्त्री महतोले सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई अपराध नियन्त्रण, चोरी–पैठारी तथा तस्करी नियन्त्रण र विपद्का बेला उद्धारमा परिचालन गर्न सहज होस् भन्ने उद्देश्यले मोटरसाइकल उपलब्ध गराइएको बताउनुभयो ।
उहाँले सुरक्षा निकायलाई आवश्यक साधनस्रोत उपलब्ध गराएर सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने प्रदेश सरकारको नीतिअनुसार सवारीसाधन हस्तान्तरण गरिएको बताउनुभयो । उपलब्ध साधनको प्रभावकारी प्रयोग गरी सीमा क्षेत्रको सुरक्षा तथा अपराध नियन्त्रणमा थप सक्रियता बढाउन उहाँले सशस्त्र प्रहरीलाई आग्रह गर्नुभयो ।
मधेश प्रदेशका अधिकांश जिल्ला भारतसँग सीमा जोडिएका छन् । खुला सीमाका कारण विभिन्न समयमा चोरी–पैठारी, भन्सार छली तथा तस्करीका गतिविधि हुने गरेका छन् । सीमावर्ती मुख्य नाकामा सुरक्षा निगरानी बढेपछि ग्रामीण तथा भित्री सीमावर्ती क्षेत्रमा समेत अवैध गतिविधि हुन सक्ने भएकाले त्यस्ता क्षेत्रमा गस्ती तथा निगरानी बढाउनुपर्ने आवश्यकता रहेको सुरक्षा अधिकारीहरूको भनाइ छ ।
सीमावर्ती क्षेत्रका ग्रामीण सडक तथा भित्री बस्तीमा नियमित गस्ती गर्न मोटरसाइकल उपयोगी हुने भएकाले उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । यसबाट सुरक्षाकर्मीको आवतजावत सहज हुनुका साथै सूचना प्राप्त भएको स्थानमा तत्काल पुगेर कारबाही तथा उद्धार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि प्रदेश सरकारले प्रदेशका जिल्ला प्रहरी कार्यालयहरूलाई परिचालन गर्ने गरी ३५ थान मोटरसाइकल उपलब्ध गराएको थियो । गृह, सञ्चार तथा कानुन मन्त्रालयका अनुसार आवश्यकता र प्राथमिकताका आधारमा थप १० थान मोटरसाइकल उपलब्ध गराउने तयारी गरिएको छ ।
मन्त्रालयले प्रदेशका सुरक्षा निकायको परिचालन क्षमता बढाउन आवश्यक स्रोतसाधन उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने जनाएको छ । सीमावर्ती क्षेत्रमा सुरक्षा उपस्थिति प्रभावकारी बनाउनुका साथै अपराध नियन्त्रण र विपद् प्रतिकार्यमा सवारीसाधनको उपयोग बढाउने मन्त्रालयको उद्देश्य रहेको बताइएको छ ।




