महोत्तरी – औरही नगरपालिका कार्यालयमा भदौ ३१ गते नगर प्रमुखमाथि भएको हातपात तथा कार्यालय परिसरमा भएको तोडफोडको घटनाका सम्बन्धमा मधेश प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइने भएको छ।
महोत्तरी जिल्ला स्तरीय नगर प्रमुखहरूको बैठकले असोज १२ गते साँझ ६ बजे प्रदेश प्रमुख र मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने निर्णय गरेको औरही नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार खड्काले जानकारी दिनुभयो।नगर प्रमुख खड्काका अनुसार भदौ ३१ गते बिहान करिब ११ः३० बजे केही व्यक्तिले नगर प्रमुखको कार्यकक्षमा प्रवेश गरी हातपात गर्नुका साथै कार्यालय परिसरमा तोडफोडलगायतका गतिविधि गरेका थिए। घटनापछि जनप्रतिनिधि तथा कर्मचारीमा त्रासको अवस्था सिर्जना भएको र सेवा प्रवाहमा समेत असर परेको उहाँले बताउनुभयो।



घटनामा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै नगर प्रमुख खड्काले घटनामा घाइते भएका कर्मचारी तथा नगरवासीमाथि समेत मुद्दा दर्ता गरिएको विषयमा आपत्ति जनाउनुभएको छ। उहाँले निर्दोष कर्मचारी तथा नगरवासीमाथि दर्ता भएका मुद्दा तत्काल खारेज गर्न र घटनामा संलग्न व्यक्तिको पहिचान गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गर्नुभएको छ।
माग सम्बोधन नभए महोत्तरी जिल्लाका स्थानीय तहहरू संयुक्त रूपमा थप कडा रूपमा प्रस्तुत हुन बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ।






