महोत्तरी – औरही नगरपालिकाका नगरप्रमुखमाथि भएको भनिएको आक्रमण तथा नगरपालिका कार्यालयमा भएको तोडफोडको घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न नेपाल नगरपालिका संघ,मधेश प्रदेश समितिले माग गरेको छ ।
संघका मधेश प्रदेश संयोजक मनोजकुमार साहको नेतृत्वमा गएको नगरप्रमुखहरूको टोलीले सोमबार मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गरेको हो ।



संघका संयोजक साहले बुझाएको ज्ञापनपत्रमा २०८३ भदौ ३१ गते बिहान करिब ११ः३० बजे केही व्यक्तिहरू कार्यक्रमस्थलमा प्रवेश गरी औरही नगरपालिकाका नगरप्रमुखमाथि हातपात गर्नुका साथै नगरपालिका कार्यालय परिसरमा तोडफोडलगायतका गतिविधि गरेको उल्लेख गरिएको छ ।
स्थानीय सरकार प्रमुखमाथि भएको भनिएको उक्त घटनाले जनप्रतिनिधि तथा कर्मचारीमा त्रासको वातावरण सिर्जना भएको र भयमुक्त वातावरणमा सार्वजनिक सेवा प्रवाह गर्न कठिनाइ उत्पन्न भएको संघले जनाएको छ ।
ज्ञापनपत्रमा घटनामा संलग्न व्यक्तिमाथि कारबाही अघि बढाउनुको सट्टा नगरप्रमुखको पक्षमा उभिएका कर्मचारी तथा नगरवासीमाथि राजनीतिक दबाबका आधारमा झूटा मुद्दा लगाउने प्रयास भएको दाबीसमेत गरिएको छ । यस्तो गतिविधिले विधिको शासन र कानुनी प्रक्रियामाथि प्रश्न उठाउने भएकाले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न संघले माग गरेको छ ।
संघका अनुसार २०८३ असोज १२ गते बसेको महोत्तरी जिल्ला स्तरीय नगरप्रमुखहरूको बैठकले पनि घटनाका विषयमा छलफल गरेको थियो । बैठकले निर्दोष कर्मचारी तथा नगरवासीमाथि मुद्दा दर्ता भएको भए त्यसको तत्काल छानबिन गरी फिर्ता गर्न तथा घटनामा संलग्न व्यक्तिमाथि कानुनी कारबाही अघि बढाउन माग गरेको छ ।
नगरपालिका संघले जनप्रतिनिधि तथा कर्मचारीमाथि हुने यस्ता घटनालाई सामान्य रूपमा नलिई स्थानीय तहमा सुरक्षित र भयमुक्त वातावरणमा सेवा प्रवाह गर्ने अवस्था सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा तथा कानुनी व्यवस्था मिलाउनसमेत संघले आग्रह गरेको छ ।





