सर्लाही – सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१, बहादुरपुरमा सोमबार मध्याह्न मलामी गएका एक वृद्ध खोलाले बगाएर बेपत्ता हुनुभएको छ ।
बहादुरपुर गाउँका ७० वर्षीय छित्नु साह बेपत्ता हुनुभएको हो ।



दाहसंस्कारको काम सकिएपछि नुखाउने क्रममा उहाँलाई सोती खोलाले बगाएर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
खोलाले बगाएर बेपत्ता साहको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय गाउँले भएर खोजी गरिरहेको उहाँले बताउनुभयो ।
सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अमरबहादुर खत्रीका अनुसार खोलाले बगाएर बेपत्ता वृद्धको खोजीको लागि महोत्तरीको बर्दिवासस्थित सशस्त्र प्रहरी बलको बाहिनीबाट गोताखोर टोली खटिएको छ ।
वृद्ध डुबेको भागमा पानी धेरै जमेको र प्रहरीले प्रयास गर्दा फेला पार्न नसकेपछि बाहिनीबाटै तालिम प्राप्त गोताखोर टोलीसमेत मगाइएको सशस्त्र प्रहरीका एसपी खत्रीले बताउनुभयो ।





