जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाका नगरप्रमुख संजीवकुमार साहले प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नभए आगामी सोमबारदेखि शिक्षा तथा स्वास्थ्य शाखामा समेत तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
विगत डेढ महिनादेखि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक काम प्रभावित भएको भन्दै नगरप्रमुख साहले तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न माग गरेका हुन् ।



उनका अनुसार प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग पटकपटक आग्रह गरिए पनि समस्या समाधान हुन सकेको छैन । अधिकृतको अनुपस्थितिका कारण चाडपर्वको समयमा कर्मचारीको तलब भुक्तानीसमेत प्रभावित भएको नगरप्रमुख साहको भनाइ छ ।
यसअघि नगरप्रमुख साहले गत सोमबार नगरपालिका कार्यालयसहित ९ वटै वडा कार्यालयमा तालाबन्दी गरी त्यसको साँचो जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बुझाएका थिए । प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नभएसम्म नगरपालिका सञ्चालन गर्न कठिनाइ हुने उनको भनाइ छ ।
नगरप्रमुख साहका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ १ गते खिमराज भुसाललाई भंगहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो । तर, भुसाल हालसम्म कार्यालयमा हाजिर भएका छैनन् ।
प्रमुख प्रशासकीय अधिकृत हाजिर हुने वातावरण तत्काल नबने आगामी सोमबारदेखि शिक्षा तथा स्वास्थ्य शाखामा समेत तालाबन्दी गरिने नगरप्रमुख साहले चेतावनी दिएका छन् ।
नगरपालिकामा प्रशासनिक नेतृत्वको अभावका कारण सेवा प्रवाह प्रभावित भइरहेकाले समस्या तत्काल समाधान गर्न उनले सम्बन्धित मन्त्रालयसँग आग्रहसमेत गरेका छन् ।





