जनकपुरधाम- पुत्रको दीर्घायु, स्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै मिथिलाञ्चलसहित तराई–मधेसमा मनाइने लोकपर्व जितिया आजदेखि सुरु भएको छ। तीन दिनसम्म मनाइने जितिया पर्वको पहिलो दिन आज व्रतालु महिलाले ‘नहाय खाय’ विधि शुरु गरेकी छिन ।
नहाय खायको लागि जनकपुरधामको पवित्र सरोबर गंगा सागरमा आज विहानै देखी श्रद्धालुहरुको भीड लागेको छ । पर्व शुरु गर्नु अघि पवित्र सरोवर वा नदीमा पुगी श्रद्धालुहरुले स्नान गरी जिमुतवाहनलाई तेल , खरी चढाउने गर्दछीन । पितृ पक्षमा पुरुषहरुले आफनो पितृलाई पानी दिने र सोह्र श्राद्ध गर्ने गर्दछन भने महिलाहरुले आज पितराइन खुवाउने चलन समेत रहेको छ । सासु आमा वितेका महिलाहरुले उनिहरुको नाउमा महिलालाई नै भोजन गराउने परम्परा समेत रहेको छ।




जितिया विशेषगरी आमाहरूले आफ्ना पुत्रको दीर्घायु र कल्याणको कामना गर्दै कठिन उपवास बस्ने धार्मिक तथा सांस्कृतिक पर्व हो। मिथिलाञ्चलका साथै थारू समुदायमा समेत यस पर्वको विशेष महत्व रहेको छ।
पर्वको पहिलो दिन नुहाइधुवाइ गरी चोखो भएर पूजा गर्ने र परम्परागत परिकार खाने चलन छ। यस दिनलाई ‘नहाय खाय’ भनिन्छ। नहाय खायका अवसरमा च्यूरा, दहीलगायतका परिकारसँगै माछ र मरुवा अर्थात् कोदो खाने परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन्।
संस्कृतिविद्हरुका अनुसार जितियामा खानपान र उपवासको आफ्नै सांस्कृतिक महत्व छ। पर्वको मुख्य दिन अष्टमी तिथिमा व्रतालु महिलाले कठोर उपवास बस्ने परम्परा छ। यस दिन थुकसमेत निल्न नहुने धार्मिक मान्यता रहेको छ।
उदयकालमा अष्टमी पर्ने दिनलाई व्रतको दिन मानिन्छ। त्यसको भोलिपल्ट नवमी तिथिमा व्रत पारण गर्ने परम्परा रहेको छ ।
जितिया पर्वमा पुत्रको दीर्घायु र स्वास्थ्यका लागि विशेष पूजा तथा धार्मिक विधि गरिन्छ। व्रतालु महिलाले आफ्ना सन्तानको टाउकोमा तेलखरी लगाउने चलनसमेत रहेको छ।
जितियाको मुख्य व्रतका क्रममा महिलाले निर्जला उपवास बस्ने तथा जिमुतवाहनको पूजा र कथा श्रवण गर्ने गर्छन्। पर्वको समापनपछि नवमीका दिन धार्मिक विधिअनुसार पारण गरिन्छ।
जितिया मिथिला र थारू समुदायको मौलिक संस्कृति, मातृत्वको भावना र पारिवारिक आस्थासँग जोडिएको महत्वपूर्ण लोकपर्वका रूपमा पुस्तौंदेखि मनाइँदै आएको छ।





