महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती–२०८३ पहिलोपटक मधेश प्रदेशमा आयोजना हुने भएको छ ।
आगामी असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबासस्थित गौरीडाँडा खुला मञ्चमा आयोजना हुने महाधिवेशनमा देशभरबाट करिब एक हजार पाँच सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगरले जानकारी दिनुभयो ।




शुक्रबार बर्दिबासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मगरले प्रतिष्ठानको २५ वर्षे संस्थागत यात्राको महत्वपूर्ण चरणमा मधेश प्रदेशमा महाधिवेशन आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नगरी संस्थाको विगतको समीक्षा, वर्तमान अवस्थाको मूल्याङ्कन र आगामी कार्यदिशा तय गर्ने अवसरका रूपमा लिइएको बताउनुभयो ।

‘लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नारासहित हुने महाधिवेशनको उद्घाटन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, अग्रज कलाकार, स्रष्टा, सञ्चारकर्मी, उद्योगी–व्यवसायी तथा लोकसंस्कृतिप्रेमीको सहभागिता रहनेछ ।
करिब ५० हजार सदस्य आबद्ध रहेको प्रतिष्ठानले मधेशमा महाधिवेशन आयोजना गर्नुलाई देशका विभिन्न भूगोलमा रहेका लोकसंस्कृतिलाई जोड्ने तथा मधेशको मौलिक लोकसंस्कृतिसँग प्रतिष्ठानको सम्बन्ध थप सुदृढ गर्ने अवसरका रूपमा लिएको छ ।

प्रतिष्ठानका अनुसार नेपाली लोकगीत नेपाली समाजको जीवनपद्धति, श्रम, संस्कार, संस्कृति, प्रकृति, प्रेम, दुःख–सुख र सामाजिक अनुभूतिको मौलिक अभिव्यक्ति हो । देउडा, रोइला, सोरठी, मारुनी, तीज, असारे, झ्याउरे, सालैजो, कौडा, सेलो, भजन, मालश्री र दोहोरीलगायतका लोकधुन नेपाली समाजको विविध सांस्कृतिक परम्परासँग जोडिएका छन् । आधुनिक प्रविधि र सामाजिक सञ्जालको विस्तारसँगै लोकगीतको पहुँच व्यापक भए पनि यसको मौलिकता, भाषा, भाका र सांस्कृतिक सन्दर्भको संरक्षण आवश्यक रहेको प्रतिष्ठानले जनाएको छ ।
विसं २०५७ असोजमा नवलपरासीको अरुणखोलामा वरिष्ठ लोक तथा दोहोरी गायक एवं सर्जक अम्बर विरही गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन भएपछि प्रतिष्ठानको संस्थागत यात्रा सुरु भएको हो । प्रतिष्ठानको विधान २०५८ ले गुरुङलाई संस्थापक अध्यक्षका रूपमा उल्लेख गरेको छ ।

स्थापनापछि विभिन्न कालखण्डमा प्रजापति पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनी र रमेश बिजीलगायतले प्रतिष्ठानको नेतृत्व गर्नुभएको थियो । हाल रीता थापा मगरको नेतृत्वमा प्रतिष्ठान क्रियाशील रहेको छ । सातै प्रदेश, ७० जिल्ला, उपत्यका तथा विदेशमा समेत संगठन विस्तार गरेको प्रतिष्ठानमा करिब ५० हजार सदस्य आबद्ध रहेको जनाइएको छ ।
रजत जयन्तीका अवसरमा प्रतिष्ठानको २५ वर्षे यात्रामा योगदान पुर्याएका अग्रज स्रष्टा तथा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सम्मान गरिने कार्यक्रमसमेत रहेको छ । महाधिवेशनले संस्थाको आगामी नीति तथा कार्यक्रमका विषयमा समेत छलफल गरी आवश्यक निर्णय गर्नेछ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पर्यवेक्षकका लागि बर्दिबास क्षेत्रमा करिब एक हजार जनाको आवास व्यवस्थापन भइसकेको तथा बाँकीका लागि ढल्केबर र लालगढ क्षेत्रमा व्यवस्था गरिने जनाइएको छ । आवश्यक परे जनकपुरधामसम्म आवास व्यवस्थापन विस्तार गर्न सकिने प्रतिष्ठानले जनाएको छ । खानपान, यातायात, सुरक्षा, स्वास्थ्य, सञ्चार तथा अन्य व्यवस्थापनका लागि स्थानीय सरोकारवालासँग समन्वय भइरहेको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रीता थापा मगर, वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, उपाध्यक्ष दीपक शर्मा, उपमहासचिव शिरीष देवकोटा, मधेश प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मा, केन्द्रीय सदस्य कृष्ण गौतम, मधेश प्रदेशका सल्लाहकार हिरा गौतमलगायत कलाकार तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिष्ठानले महाधिवेशनलाई सफल बनाउन कलाकार, स्रष्टा, सञ्चारकर्मी, स्थानीय बासिन्दा, उद्योगी–व्यवसायी, संघसंस्था तथा लोकसंस्कृतिप्रेमीलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ ।
















