सुजाता राई
विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको ३६औँ बोर्ड बैठक शुक्रबार इटहरीस्थित प्रादेशिक रंगशालामा सम्पन्न भएको छ।



कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं बोर्डका अध्यक्ष गीता तिम्सिनाको अध्यक्षतामा बसेको बैठकमा बोर्डले प्रादेशिक रंगशाला १०औँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगिताका लागि स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ताको व्यवस्था गर्ने तयारी थाल्ने निर्णयका साथै प्रतियोगिता तथा विभिन्न समसामयिक विषयसम्बन्धी छलफल गर्दै आवश्यक निर्णय गरिएको सदस्य सचिव विप्लव घोषले बताए।

बैठककै अवसरमा मन्त्री तिम्सिनाले दशौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगिताको सचिवालय उद्घाटन गरेकी छन्। प्रतियोगिताको तयारी तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सचिवालय सञ्चालनमा ल्याइएको हो।

बैठकमा बोर्डका उपाध्यक्ष सन्तोषी श्रेष्ठ, वसन्तराज अर्याल, पदाधिकारी, सदस्यहरू लगायत चौध जिल्लाका अध्यक्ष र कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो।






