जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा पुनः डा.सिके राउत चयन भएका छन् । भर्खर सम्पन्न भएको मतगणना अनुसार अध्यक्षमा राउत र महासचिवमा सञ्जय यादव निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा सिके राउतको मात्र उम्मेदवारी परेको थियो । तर २० प्रतिशतभन्दा बढी मल ल्याउने प्रावधान भएको कारण अध्यक्ष पदमा पनि मतदान भएको थियो । २० प्रतिशतभन्दा धेरै बढी मत ल्याएका छन् ।



मत परिणाम सार्वजनिक नगरेको कारण अध्यक्ष राउत कति मत पाएका छन् त्यो खुलेको छैन । त्यस्तै, मतगणनामा संलग्न एक नेताका अनुसार महासचिव पदमा सबभन्दा बढी मत सञ्जय यादवले ल्याएका छन् ।
एक जना महासचिव पदमा तीन जनाले उम्मेदवारी दिएका थिए । महासचिवमा ममता झा (सप्तरी), चन्दनकुमार सिंह (महोत्तरी) र सञ्जयकुमार यादव (सिरहा)ले उम्मेदवारी दिएका थिए । यसअघि चन्दन सिंह महासचिव थिए । ११ सय ५५ जनाले मतदान गरेका थिए ।
सिरहाका सञ्जय यादव मधेश प्रदेशका प्रदेश सभा सदस्य हुन् । उनी दुई पटक मन्त्री पनि भइसकेका छन् । सिके राउतसँग राजनीतिमा सक्रिय छन् ।
सात जना उपाध्यक्षका लागि १४ जनाले उम्मेदवारी दिएका छन् भने एक जना उपमहासचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात जना सचिवका लागि १० जनाको उम्मेदवारी परेको छ ।





