सुजाता राई
विराटनगरमा काव्य उद्यान नेपालले पहिलो मासिक रचना वाचन तथा विमर्श कार्यक्रम आयोजना गर्दै नियमित साहित्यिक गतिविधिको सुरुवात गरेको छ। विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न विधाका स्रष्टा, साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।



काव्य उद्यान नेपालका अध्यक्ष भूपाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नारी स्रष्टा समाजकी अध्यक्ष तथा साहित्यकार ममता मृदुल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कार्यक्रममा सिर्जना मञ्च, इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल र चारु प्रतिष्ठानका अध्यक्ष देवी पन्थीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा चारु प्रतिष्ठानका अध्यक्ष देवी पन्थीले ‘शृङ्खलाको चारु’ अंक लोकार्पण गरेका थिए भने साहित्यकार तारक धितालको ‘जोडी कविता’ कृति विमोचन गरिएको थियो। रचना वाचनसँगै कृति लोकार्पण र विमोचनले कार्यक्रमलाई साहित्यिक सिर्जना तथा संवादको अवसरका रूपमा थप अर्थपूर्ण बनाएको थियो।

कार्यक्रममा सप्तकोशी साहित्य मञ्चका अध्यक्ष तथा लघुकथा विमर्शका संयोजक रमेन्द्र कोइराला, बाल अधिकारकर्मी तथा कवि तारक धिताल, स्वर सङ्गीतालयका प्रमुख कुशेश्वर राई, नोबेल साकोस साहित्य संस्थाकी अध्यक्ष मञ्जु घिमिरे दाहाल, समालोचक तथा काव्य उद्यान नेपालका सल्लाहकार भवानी पोखरेल, नेपाली लेखक संघकी सचिव निर्मला कोइरालालगायतको आतिथ्यता रहेको थियो।
संस्थाका उपाध्यक्ष ऋषि तिवारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाकी सहसचिव सुशीला प्रसाईं दंगालले गरेकी थिइन्।
सोही अवसरमा काव्य उद्यान नेपालका चार जना आजीवन सदस्य र एक जना सल्लाहकार सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमाणपत्रको वाचन संस्थाका सचिव केशव रिजालले गरेका थिए। सदस्यहरूको योगदान र सक्रियतालाई सम्मान गर्दै साहित्यिक यात्रामा थप ऊर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिने संस्थाले जनाएको छ।

कार्यक्रमको विमर्श सत्रमा इनरुवाका वरिष्ठ साहित्यकार तथा लघुकथाकार रमेन्द्र कोइरालाले लघुकथाका विशेषता, संरचना र लेखनका आधारभूत पक्ष तथा ‘५/१ को सूत्र’ बारे धारणा राखेका थिए। उनले लघुकथा आकारमा छोटो भए पनि त्यसको कथ्य, अन्तर्वस्तु र प्रभाव सशक्त हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा काव्य उद्यान नेपालका कोषाध्यक्ष अंशु कुमार गुप्तासहित जयन्त प्रधानाङ्ग, प्रेम प्रसाद रिजाल, हीराप्रसाद मण्डल, लक्ष्मी युग्मी, कुमार श्रेष्ठ, रामप्रसाद भट्टराई, चुडामणि घिमिरे, तारा श्रेष्ठ, शारदा भट्टराई, अच्युतमणि पौडेल, नानुमैयाँ दाहाल, हरिलाल चौधरी, गोपाल निर्भिक, सुजाता राई, शरद प्रधानाङ्ग, अशोक निरौला, सुरेशकुमार अग्रवाल, शान्ता कर्ण, किस्मत खतिवडालगायत चार दर्जनभन्दा बढी साहित्यकार तथा साहित्यप्रेमी सहभागी थिए।
सहभागी स्रष्टाहरूले आफ्ना रचना वाचन गर्नुका साथै रचनाको विषयवस्तु, शिल्प, शैली, भाषा र संरचनाका विषयमा विचार राखेका थिए। समकालीन साहित्यका विविध आयाममाथि भएको विमर्शले कार्यक्रमलाई रचना वाचनमा मात्र सीमित नराखी सिर्जनाको समीक्षा, आत्ममूल्याङ्कन र साहित्यिक संवादको साझा थलोका रूपमा अघि बढाएको थियो।
काव्य उद्यान नेपालको पहिलो मासिक रचना वाचन तथा विमर्श कार्यक्रमले विराटनगरमा नियमित साहित्यिक सिर्जना, वाचन र विमर्शको नयाँ अभ्यास थालेको छ। साहित्यिक संस्थाबीच सहकार्य, नयाँ स्रष्टालाई प्रोत्साहन र स्थापित स्रष्टाका अनुभव नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमले विराटनगरको साहित्यिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।





