जनकपुरधाम- प्रदेश २ सरकारले तेश्रो चरणको कोरोना महामारीलाई मध्यनजर गर्दै आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याई अक्सिजन उत्पादन सुरु गरेको छ ।
जनकपुरधाम १४ मुलेजेलिया स्थित मनिपालमा सञ्चालनमा रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड अस्पतालमा अक्सिजन प्लान्टबाट विहिवार देखि नै उत्पादन सुरु गरेको हो । उक्त अक्सिजन प्लान्ट स्थापना र संचालनको लागि प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सामान उपलब्ध गराएको थियो ।
प्रतिष्ठान अन्तर्गत कोभिड विशेष अस्पतालका प्रशासन प्रमुख सन्तोष ठाकुरले यस अक्सिजन प्लान्टबाट अहिले दैनिक २५ देखि ३० सिलिण्डरसम्म अक्सिजन उत्पादन भईरहेको जनाए । उनले भने, ‘अब देखि बिरामीको उपचारमा अक्सिजनको अभाव हुदैन । कोरोना कालमा बढी बिरामीलाई अक्सिजन नै चाहिएकोले अव प्रदेश २ मा अक्सिजन अभावको समस्या धेरै हदसम्म टरेको छ ।’
ठाकुरले त्यस्तै स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएको अर्को अक्सिजन प्लान्ट पनि अब केही महिना मै सञ्चालनमा आउने बताए ।
अर्को अक्सिजन प्लान्टको काम पनि धमाधम भइरहेको बताउँदै उनले भने, ‘आपूर्ति केन्द्रले दिएको अक्सिजन प्लान्ट यस भन्दा बढी क्षमताको रहेको छ, त्यो पनि सञ्चालनमा आएपछि हामीलाई कुनै पनि वेला अक्सिजनको अभाव नहुने बताए ।