जनकपुरधाम । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशको शिक्षा क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका उपायसहितको प्रतिवेदन मन्त्रालयमा पेस गर्न राजर्षि जनक विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।
बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले मधेशको शिक्षा क्षेत्रको अवस्था सुधार गर्न अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताए ।



विश्वविद्यालयहरू पढाइमा मात्र सीमित नभई समाज र सम्बन्धित क्षेत्रका समस्या पहिचान तथा समाधानका लागि अनुसन्धानमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
मन्त्री पोखरेलले मधेश प्रदेशका विद्यार्थी उच्च शिक्षाका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्न आवश्यक रहेको बताए ।
शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले मधेशको शिक्षा क्षेत्रमा रहेका समस्या, शिक्षाको गुणस्तर कमजोर हुनुका कारण तथा सुधारका सम्भावनाबारे अध्ययन गरेर मन्त्रालयमा प्रतिवेदन पेस गर्न विश्वविद्यालयलाई आग्रह गरे ।
उनले उपलब्ध स्रोत, साधन र क्षमताको प्रभावकारी उपयोग गर्दै शिक्षा क्षेत्रको सुधारमा सबै पक्ष केन्द्रित हुनुपर्ने बताए ।
नयाँ विश्वविद्यालय स्थापनाका लागि भवन निर्माणको प्रक्रिया समेत अघि बढिसकेको जानकारी दिँदै मन्त्री पोखरेलले शैक्षिक संस्थाहरूलाई अध्ययन, अनुसन्धान र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
राजर्षि जनक विश्वविद्यालयले अन्य विश्वविद्यालयको स्तरमा पुग्न अझै थप मेहनत र सुधार आवश्यक रहेको पनि मन्त्री पोखरेलले बताए ।
मधेशको शिक्षा क्षेत्रमा रहेका समस्या समाधान गर्न विश्वविद्यालयले अध्ययन तथा अनुसन्धानमार्फत ठोस सुझावसहितको प्रतिवेदन तयार पार्नुपर्ने उनको भनाइ थियो ।





