जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रशासन समूहका ११ जना कर्मचारीको सरुवा, पदस्थापन तथा काज फिर्ता गरेको छ । प्रदेश सरकारको निर्णयानुसार उपसचिव तथा अधिकृतस्तरका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
सरुवा हुनेमा अधिकृत नवौँ र उपसचिवदेखि अधिकृत सातौँ तहका शाखा अधिकृतसम्म छन् । निर्णयअनुसार रोशनकुमार विश्वकर्मा अधिकृत नवौँ र उपसचिवलाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयबाट सोही मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । यस्तै रञ्जिता साह अधिकृत नवौँरउपसचिवलाई प्रदेश नीति तथा योजना आयोगबाट प्रदेश लोक सेवा आयोगमा पठाइएको छ ।



धर्मेन्द्रलाल कर्ण अधिकृत दशौँ र उपसचिवलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयबाट प्रदेश नीति तथा योजना आयोगमा सरुवा गरिएको छ । गणेश गुप्ता झा अधिकृत दशौँ र उपसचिवलाई प्रदेश लोक सेवा आयोगबाट खेलकुद तथा समाज कल्याण मन्त्रालयमा पठाइएको छ ।
त्यसैगरी राजेशकुमार मिश्र अधिकृत दशौँ र उपसचिवलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रदेश जनलोकपाल आयोगमा सरुवा गरिएको छ भने विनोद कान्त झा अधिकृत नवौँ र उपसचिवलाई प्रदेश जनलोकपाल आयोगबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको छ ।
रमेशकुमार साह अधिकृत दशौँ र उपसचिवलाई प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । अशोक मेहता अधिकृत नवौँ र उपसचिवलाई प्रदेश नीति तथा योजना आयोगबाट अर्थ मन्त्रालयमा र जय कुमार राउत अधिकृत दशौँ र उपसचिवलाई अर्थ मन्त्रालयबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय वा अन्तर्गत पठाइएको छ ।
त्यस्तै भनसुनको भरमा लामो समयदेखि जिल्ला कार्यालयका बसेकी बबिता जयसवाल अधिकृत नवौँ र उपसचिवलाई पर्यटन विकास कार्यालय, गौरबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा तानिएको छ । जयसवाललाई काज फिर्ता मन्त्रालयमै पदस्थापना गरिएको छ ।
ओम विक्रम कटुवाललाई अधिकृत सातौँ र शाखा अधिकृतलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । यसरी प्रदेश सरकारले प्रशासन समूहका ११ कर्मचारीको जिम्मेवारी एकैपटक हेरफेर गरेको हो । निर्णयमा कर्मचारीको हाल कार्यरत कार्यालय, सरुवा गरिएको कार्यालय तथा पदसमेत उल्लेख गरिएको छ ।





