सुजाता राई
मोरङ । बेलबारीकी स्रष्टा विष्णु भण्डारी आचार्यद्वारा लिखित बाल कवितासङ्ग्रह ‘पुतलीको बिहे’ को लोकार्पण भएको छ । बेलबारी–११, मोरङस्थित लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।



बेलबारी साहित्य विकास समिति बेलबारीका अध्यक्ष रमेश निरौला प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हर्कबहादुर देवान, आम्लाबुङ साहित्य संसारका अध्यक्ष धनजित पराजुली, स्रष्टाहरू शिवप्रसाद पराजुली, मुना मिश्रका साथै उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
विद्यालयका शिक्षक देवी पोख्रेलले उपस्थित सबैलाई शब्दले स्वागत गरेको थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक शारदा दाहाल भण्डारीको सञ्चालन रहेको थियो ।
चौबिसे गाउँपालिका–५, धनकुटामा जन्मिएकी पछिल्लो बसोबास भने बेलबारीमा रहेको छ । उनी निवृत्त शिक्षक हुन् । कविता, कथा, लघुकथा, बालसाहित्य आदि विधामा कलम चलाउने उनका यसअघि ‘मान्छेको भिडभित्र’ कवितासङ्ग्रह (२०७२), ‘फेसबुक आइडी’ लघुकथा सङ्ग्रह (२०७८), ‘उघ्रिएको आकाश’ कथासङ्ग्रह (२०७९) र ‘बकसपत्र’ लघुकथासङ्ग्रह (२०८१) आदि कृति प्रकाशित भइसकेका छन् । ‘पुतलीको बिहे’ भण्डारीको पाँचौँ कृति हो ।





