बर्दिबास, महोत्तरी। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती समारोहले महोत्तरीको बर्दिबासलाई सांगीतिक उत्सवमय बनाएको छ। बिहीबारदेखि सुरु भएको महाधिवेशनमा सहभागी हुन देशभरका लोकदोहोरी कलाकार, संगीतकर्मी, प्रतिनिधि तथा कलाप्रेमी बर्दिबासमा भेला भएका छन्।
प्रतिष्ठान स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा पहिलोपटक मधेश प्रदेशमा राष्ट्रिय महाधिवेशन आयोजना गरिएको हो। आयोजकका अनुसार महाधिवेशनमा देशका ७७ वटै जिल्लाबाट एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन्। प्रतिनिधि, पर्यवेक्षक, शुभेच्छुक, कलाकार तथा दर्शक गरी पाँच हजारभन्दा बढीको उपस्थिति रहने अनुमान गरिएको छ।



मधेशको मौलिक कला तथा संस्कृतिलाई नेपाली लोकदोहोरीसँग जोड्दै यसको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महाधिवेशनलाई प्रतिष्ठानको २५ वर्षे यात्राको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। महाधिवेशनले संस्थाको विगतको समीक्षा, वर्तमान चुनौतीको पहिचान र आगामी कार्यदिशा तय गर्नुका साथै नयाँ नेतृत्वसमेत चयन गर्नेछ।

प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण गौतमका अनुसार करिब ५० हजार साधारण सदस्य आबद्ध रहेको संस्थाको महाधिवेशनमा एक हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। भारत, अमेरिका, दक्षिण कोरियालगायत दर्जनभन्दा बढी देशबाट समेत सहभागी आउने भएकाले उपस्थिति थप बढ्न सक्ने उहाँले बताउनुभयो।
महाधिवेशनमा प्रतिष्ठानको २५ वर्षे यात्राको समीक्षा, संस्थागत अवस्था, स्रष्टाले भोगिरहेका समस्या तथा लोकगीत क्षेत्रका सम्भावनाबारे छलफल हुनेछ। साथै, लोक तथा दोहोरीगीत क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धनका लागि आगामी रणनीतिसमेत तय गरिनेछ।
महाधिवेशनका कारण बर्दिबासमा चर्चित लोकदोहोरी कलाकारहरूको चहलपहल बढेको छ। शान्तिश्री परियार, प्रकाश सपुत, प्रीति आले र पशुपति शर्मालगायत लोकप्रिय कलाकारको उपस्थितिले यहाँको सांगीतिक वातावरण थप उत्साहपूर्ण बनेको छ। प्रतिष्ठानका उपमहासचिव शिरिष देवकोटालगायत कलाकारसमेत बर्दिबास पुगिसक्नुभएको छ।

महाधिवेशनको प्रचारप्रसार, पोस्टर तथा पर्चा वितरण, मञ्च सजावट र उद्घाटन समारोहको तयारीले बर्दिबासमा उत्सवको माहोल सिर्जना गरेको छ। महाधिवेशनलाई ऐतिहासिक, जीवन्त र सन्देशमूलक बनाउन तयारी तीव्र पारिएको सहआयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, मधेश प्रदेशका अध्यक्ष रुद्रसेन विश्वकर्माले बताउनुभयो।
“२५ वर्षे रजत जयन्तीको अवसरमा मधेश प्रदेशमा आयोजना हुन लागेको यो राष्ट्रिय महाधिवेशन संस्थागत कार्यक्रममा मात्र सीमित छैन। यो मधेशको कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने अवसर पनि हो,” उहाँले भन्नुभयो।
स्थानीय व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, महोत्तरीका सचिव रमेश खत्रीका अनुसार महाधिवेशन सञ्चालनदेखि अतिथि सत्कारसम्मका काम व्यवस्थित बनाउन २० वटा उपसमिति गठन गरिएको छ। सहभागी प्रतिनिधि, कलाकार, अतिथि तथा दर्शकलाई सहज वातावरण उपलब्ध गराउन उपसमितिहरूलाई छुट्टाछुट्टै जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो।
रजत जयन्तीको अवसरमा राष्ट्रिय महाधिवेशन मधेशमा आयोजना हुनु यहाँका कलाप्रेमीका लागि गर्वको विषय भएको खत्रीको भनाइ छ।
महाधिवेशनले बर्दिबासको होटल, पर्यटन तथा व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले देशभरबाट कलाकार, प्रतिनिधि र दर्शकको आगमनले स्थानीय होटल तथा पर्यटन व्यवसायमा चहलपहल बढ्ने विश्वास व्यक्त गर्नुभयो।
चर्चित कलाकारहरूको सहभागिता र सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट महाधिवेशनका गतिविधि देशविदेशसम्म पुग्ने भएकाले बर्दिबाससहित समग्र मधेशको पहिचान र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उहाँको भनाइ छ।
बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक कार्कीले लोकलय नेपाली समाजको ढुकढुकी भएको बताउँदै महाधिवेशनले स्थानीय व्यापार व्यवसायलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो। देशविदेशबाट आउने कलाकार, प्रतिनिधि तथा दर्शकको उपस्थितिले स्थानीय व्यवसायमा प्रत्यक्ष लाभ पुग्नुका साथै मधेशको बहुआयामिक सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने उहाँले बताउनुभयो।
लोकसंगीतको संरक्षण, स्रष्टाको सम्मान र सांस्कृतिक विविधताको प्रवर्द्धनलाई केन्द्रमा राखिएको महाधिवेशनले बर्दिबासलाई सांगीतिक गतिविधिको केन्द्र बनाउनुका साथै मधेशको कला, संस्कृति र पर्यटनलाई राष्ट्रिय मञ्चमा चिनाउने अपेक्षा गरिएको छ।





