बर्दिवास – बहिरा तथा कम सुन्ने बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्रोत कक्षाका शिक्षकलाई लक्षित गरी आयोजना गरिएको पाँचदिने सांकेतिक भाषासम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ ।प्रादेशिक शिक्षा तालिम केन्द्र बाराको आयोजना तथा टेक्सस परियोजनाको प्राविधिक सहयोगमा महोत्तरीको बर्दिबासमा सञ्चालन गरिएको तालिममा धनुषा, रौतहट र महोत्तरीका परियोजनाअन्तर्गतका विद्यालयमा कार्यरत २६ जना शिक्षक सहभागी थिए । सहभागीमध्ये १२ जना बहिरा शिक्षक रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।
तालिमका प्रशिक्षक प्रकाश रेग्मीले बहिरा विद्यार्थीको रुचि, क्षमता र आवश्यकताअनुसार शिक्षण विधि प्रयोग गर्ने तरिकाबारे सांकेतिक भाषामार्फत प्रशिक्षण दिइएको बताउनुभयो । उहाँले विद्यार्थीको सिकाइलाई सहज र प्रभावकारी बनाउन दृश्य सामग्री तथा सञ्चारका वैकल्पिक विधिको प्रयोग महत्त्वपूर्ण रहेको बताउनुभयो ।




उहाँका अनुसार तालिममा समावेशी शिक्षासम्बन्धी सरकारी नीति तथा व्यवस्था, बहिरोपन र कम सुन्ने अवस्थाको पहिचान, नेपाली सांकेतिक भाषा, दृश्य सामग्रीको प्रयोग तथा सञ्चारका वैकल्पिक विधिबारे जानकारी दिइएको थियो ।त्यस्तै, बालबालिकाको आवश्यकता र क्षमताअनुसार शिक्षण गर्ने तरिका, पाठ्यक्रम अनुकूलन, लैङ्गिक उत्तरदायी शिक्षण, विश्वव्यापी सिकाइ ढाँचा (यूडीएल) र व्यक्तिगत शैक्षिक योजना (आईईपी) निर्माणसम्बन्धी विषयमा पनि अभ्यास गराइएको थियो ।
तालिमका अर्का प्रशिक्षक विजय तामाङ्ले सहभागी शिक्षकलाई सैद्धान्तिक ज्ञानका साथै समूह छलफल, नमुना प्रदर्शन, व्यावहारिक अभ्यास र अनुभव आदानप्रदानमार्फत सिकाइका विधि कक्षाकोठामा प्रयोग गर्न सक्षम बनाउने प्रयास गरिएको बताउनुभयो । तालिममा प्रत्येक बालबालिकाको सञ्चार क्षमता, भाषा, सिकाइको गति र व्यक्तिगत आवश्यकताअनुसार शिक्षण सामग्री तथा विधि छनोट गर्नुपर्ने विषयमा विशेष जोड दिइएको उहाँको भनाइ थियो ।
उहाँका अनुसार समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि स्रोत कक्षाका शिक्षक र मूलधारका कक्षामा अध्यापन गर्ने शिक्षकबीच सहकार्य आवश्यक रहेको विषयमा समेत छलफल गरिएको थियो । सबै बालबालिकाले विद्यालयमा सम्मानजनक वातावरणमा सिक्न, आफ्ना विचार व्यक्त गर्न र सिकाइका अवसरमा समान रूपमा सहभागी हुन पाउने वातावरण निर्माणमा शिक्षकको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिइएको थियो ।
प्रशिक्षक लामाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कक्षाकोठामा प्रयोग गरी बहिरा तथा कम सुन्ने बालबालिकाको सिकाइलाई सहज, पहुँचयोग्य र प्रभावकारी बनाउने अपेक्षा गरिएको जानकारी दिनुभयो । तालिमको उपलब्धिलाई दिगो बनाउन विद्यालयस्तरमा नियमित अनुगमन, पृष्ठपोषण, शिक्षकबीच सहकार्य र आवश्यक प्राविधिक सहयोगलाई निरन्तरता दिनुपर्ने आवश्यकता पनि औँल्याइएको छ ।
समावेशी शिक्षा प्रवद्र्धन तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन भइरहेको टीईसीएसई परियोजनामा नेपाल सरकार, फिनल्यान्डको परराष्ट्र मन्त्रालय र युरोपेली सङ्घको सहयोग रहेको छ । परियोजनाले सबै बालबालिकाका लागि समान र समावेशी सिकाइका अवसर विस्तार गर्न प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।





