महोत्तरी – नेपालीहरूको महान् चाड बडादशैँ, दीपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै मेला, महोत्सव, सांस्कृतिक कार्यक्रम तथा जात्रा सञ्चालन गर्दा स्वीकृत एकीकृत सुरक्षा योजनाको पूर्ण पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो।



सहायक प्रमुख जिल्ला अधिकारी सञ्जयकुमार पोखरेलद्वारा जारी सूचनाअनुसार मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुअघि सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्नेछ। साथै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नुपर्ने र कार्यक्रमको सुरक्षाको जिम्मेवारी आयोजकले लिनुपर्ने व्यवस्था गरिएको छ।
प्रशासनले सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम राति १० बजेपछि सञ्चालन गर्न रोक लगाएको छ। उच्च आवाजमा डिजे तथा बाजागाजा बजाउने, ध्वनि प्रदूषण गर्ने र अश्लील गतिविधि प्रदर्शन गर्नसमेत निषेध गरिएको छ।
त्यसैगरी, पटका, भुइँचम्पा तथा आतिसबाजीजस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थको आयात, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको छ। चाडपर्वका बेला जुवातास, सट्टेबाजी तथा अवैध मदिराको कारोबार नगर्न पनि प्रशासनले सचेत गराएको छ।
सवारी दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, ट्राफिक नियमको पालना गर्न तथा सडक आवागमनमा अवरोध नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। छठ पर्वका अवसरमा नदी, पोखरी तथा अन्य जलाशयमा पूजा गर्दा विशेष सतर्कता अपनाउन र बालबालिका तथा ज्येष्ठ नागरिकको उचित रेखदेख गर्नसमेत अनुरोध गरिएको छ। मूर्ति विसर्जनको मार्ग निर्धारण गर्दा स्थानीय प्रशासनसँग समन्वय गर्नुपर्ने सूचनामा उल्लेख छ।
प्रशासनले अनलाइन वित्तीय ठगीबाट जोगिन ओटीपी तथा पासवर्ड गोप्य राख्न र सामाजिक सञ्जालमा भ्रामक सूचना तथा धार्मिक एवं साम्प्रदायिक सद्भाव बिगार्ने सामग्री प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेको छ। चाडपर्व मनाउन घर वा पसल बन्द गरी बाहिर जाँदा सुरक्षित ताल्चा लगाउन, देउँसीभैलो मर्यादित रूपमा सञ्चालन गर्न र मेला तथा उत्सवस्थलमा सरसफाइ कायम राख्न पनि अनुरोध गरिएको छ।
जारी निर्देशन उल्लङ्घन गरी गैरकानुनी वा अवाञ्छित गतिविधि गरे वा गराएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। कुनै शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराउनसमेत सर्वसाधारणलाई आग्रह गरिएको छ।






