ढल्केवर- धनुषाको मिथिला नगरपालिका ९ मा स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउन बिहिबार सडक नाटक प्रदर्शन गरिएको छ ।
मिथिला नगरपालिका ९ स्थित बेगांडावर मा रहेको बडहरी बजारमा बाल अधिकार समूहले सडक नाटक गरेको छ । मिथिला नगरपालिका २ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका बाल अधिकार संचेतना समूह र महेन्द्र मावि ढल्केबर का बाल अधिकार संचेतना समुहले स्थानीय समुदायलाई अधिकार र कर्तव्यप्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउन सडक नाटक प्रदर्शन गरेको हो ।




अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) को सहयोगमा बाल अधिकार समूहले प्रदर्शन गरेको सो सडक नाटक हेर्न सयोंको संख्यामा स्थानीयहरुको भीड लागेको थियो । सडक नाटक प्रदर्शनको क्रममा कलाकारहरुले छोरीको शिक्षामा गरिने भेदभाव, शिक्षामा सबैको समान पहुँच, छुवाछुत, मानवीय उपचारमा हुने लापरवाही, वातावरणीय सरसफाइ, विभिन्न हिंसा तथा विसंगति विरुद्ध अभिनय मार्फत समाजमा सचेतना जगाउन सन्देश प्रवाह गरेको सहयोगी संस्था ईन्सेकका जिल्ला सहजकर्ता अनिता यादवले जानकारी दिनुभयो ।
यता सो सकड नाटक हेरेपछि मिथिला नगरपालिका ९ का स्थानीय अनिता परियारले समाजमा व्याप्त रहेको विभिन्न भेदभाव्, छुवाछुत, छोरा छोरीको शिक्षामा अभिभावकद्धारा गरिने असमान व्यवहार, सरसफाइको अभावमा हुने असर लगायतको विषयलाई महत्वका साथ उठान गरेकोले समाजको आँखा खोल्न यस्ता सडक नाटक ठाउँ ठाउँमा गर्न आवश्यक रहेको बताउनुभयो ।

सडक नाटक प्रदर्शन कार्यक्रमलाई सहजिकरण गर्न र बालबालिकाको प्रतिभालाई उकास्न इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान,फोकस पर्सन बरुण बस्याल सहित मानव अधिकार शिक्षा कार्यक्रम का केन्द्रिय फोकल पर्सन सोना प्याकुरेलको समेत उपस्थिति रहेको थियो।
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश को कार्यक्रम धनुषाको मिथिला नगरपालिका र वटेशवर गाउँपालिका मा चल्दै आएको छ।




