महोत्तरी – महोत्तरीको औरही नगरपालिकालाई ९५.१६ प्रतिशत साक्षरता दर हासिल गरेपछि बिहीबार साक्षर नगरपालिका घोषणा गरिएको छ । यससँगै औरही महोत्तरी जिल्लामा साक्षर घोषित हुने नवौँ स्थानीय तह बनेको छ ।
नगरपालिकाको आयोजनामा भएको घोषणा सभामा मधेस प्रदेशसभा सदस्य सुरिता साहले नगरप्रमुख प्रदीपकुमार खड्कालाई साक्षर नगरपालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।



नगरपालिकाको ‘साक्षरता स्थिति तथा साक्षर घोषणा सम्बन्धी प्रतिवेदन–२०८३’ अनुसार १५ देखि ६० वर्ष उमेर समूहका १९ हजार ३९७ जनाको साक्षरता अवस्थाको मूल्याङ्कन गरिएको थियो । त्यसका लागि नगरपालिकाका नौवटै वडाका सात हजार ४२ घरधुरीबाट तथ्याङ्क सङ्कलन गरिएको थियो ।
नगरपालिकाले २०८३ वैशाखदेखि सञ्चालन गरेको साक्षरता अभियानमा ७२ जना साक्षरता सहजकर्ता परिचालन गरेको थियो । अभियानमार्फत नागरिकलाई पढ्न, लेख्न, सामान्य हिसाबकिताब गर्न, मोबाइल तथा क्याल्कुलेटर प्रयोग गर्न, घडी हेरेर समय बताउन र दैनिक जीवनमा आवश्यक पर्ने व्यावहारिक सीप सिकाइएको थियो ।
नेपाल सरकारको राष्ट्रिय मापदण्डअनुसार साक्षरताका १२ वटा सूचकमध्ये कम्तीमा छवटा सूचक पूरा गर्ने व्यक्तिलाई साक्षर मानिन्छ । सोही मापदण्डका आधारमा गरिएको मूल्याङ्कनमा नगरपालिकाको साक्षरता दर ९५.१६ प्रतिशत पुगेपछि साक्षर घोषणा गरिएको प्रतिवेदनमा उल्लेख छ ।
वडागत विवरणअनुसार सबैभन्दा बढी साक्षरता दर वडा नम्बर ७ मा ९९.४८ प्रतिशत रहेको छ । त्यस्तै वडा नम्बर ९ मा ९९.४७ प्रतिशत, वडा नम्बर १ मा ९९.१२ प्रतिशत र वडा नम्बर ३ मा ९९.०७ प्रतिशत साक्षरता दर कायम भएको छ । वडा नम्बर ६ मा सबैभन्दा कम ९५.२५ प्रतिशत साक्षरता दर रहे पनि सबै वडाले राष्ट्रिय मापदण्ड पूरा गरेका छन् ।
घोषणा सभामा नगरप्रमुख खड्काले साक्षरता अभियानबाट प्राप्त उपलब्धिलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो । साक्षर बनेका नागरिकलाई सिकाइलाई निरन्तरता दिन आग्रह गर्दै उहाँले नगरपालिकाका नागरिकलाई निरन्तर शिक्षासँग जोड्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा मधेस प्रदेशसभा सदस्य सुरिता साह र रमिता प्रधान, नगर उपप्रमुख रेणु झा, शिक्षा विकास तथा समन्वय इकाइकी पदाधिकारी रिना कुमारी साह, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रभूषण ठाकुर, नौवटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र नगरपालिकाका कर्मचारीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा सहभागीहरूले निरन्तर शिक्षालाई प्रवर्द्धन गर्दै नगरपालिकालाई पूर्ण साक्षरताको दिशामा अघि बढाउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । साक्षरता अभियानमा योगदान पुर्याउने विभिन्न सङ्घसंस्था, व्यक्ति, कर्मचारी तथा साक्षरता सहजकर्तालाई कार्यक्रममा सम्मान गरिएको थियो ।
अभियानमा सेभ द चिल्ड्रेन, आसमान नेपाल, जनकपुरधाम तथा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिबासले प्राविधिक सहयोग गरेका थिए ।
फोटो

























































