महोत्तरी – महोत्तरीको औरही नगरपालिका–५ श्रीपुरका ३० वर्षीय दिलीप यादव बुधबार बिहान मृत फेला परेका छन्।
स्थानीय रामप्रगास रायका छोरा यादवको शव औरही नगरपालिका–५ को वडा कार्यालयदेखि दक्षिणतर्फ जाने सडकछेउमा रहेको बिजुलीको पोलमा झुन्डिएको अवस्थामा फेला परेको हो। घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाउनुका साथै अनुसन्धान सुरु गरेको छ।



मृतकका परिवारले यादवको मृत्यु शङ्कास्पद रहेको भन्दै हत्या भएको आशङ्का व्यक्त गरेका छन्। घटनाको वास्तविक कारण भने खुल्न बाँकी छ। यादवको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको छ।
पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानबाट मृत्युको कारणबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।मृतक यादवको परिवारमा आमा, भाइ, श्रीमती, दुई छोरा र चार छोरी छन्। परिवारका अनुसार घरको मुख्य आयस्रोत यादव नै थिए।
उनका बुवाको करिब दुई वर्षअघि निधन भएको थियो। परिवारको कमाउने मुख्य व्यक्ति गुमेपछि आश्रित परिवारको जीविकोपार्जनमा चुनौती थपिएको छ।




