जनकपुरधाम– धनुषाको नगराइन नगरपालिकाबाट ६ वर्षीय बालक दुई दिनदेखि बेपत्ता छन् ।
नगराइन नगरपालिका–७ देवडिहा गाउँ निवासी अजय कुमार झाका ६ वर्षीय छोरा साकेत झा हिजो बुधबार दिउँसो ३ बजेदेखि आफ्नै निवासबाट सम्पर्कविहीन भएको परिवारजनले जनाएका छन् ।



प्राप्त जानकारीअनुसार राम्रोसँग बोल्न नसक्ने साकेतलाई खिरखिरियाको चौरीतर्फ जाँदै गरेको देखिएको थियो । त्यसपछि उनी कहाँ गए भन्नेबारे जानकारी प्राप्त हुन नसकेको जनाइएको छ ।
बालक बेपत्ता भएपछि परिवारजनले उनको खोजीका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरेका छन् ।
साकेतलाई कतै देखेमा वा उनीबारे कुनै जानकारी प्राप्त भएमा तत्काल परिवारजन वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरिएको छ ।
परिवारले बालकलाई सकुशल फेला पारेर घरसम्म पुर्याउने व्यक्तिलाई एक लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।
बालकको अवस्था र उनको खोजीका लागि परिवार चिन्तित रहेकाले सबैलाई खोजी अभियानमा सहयोग गर्न अनुरोध गरिएको छ ।
बालकको खोजीमा सहयोग पुग्ने उद्देश्यले परिवारजनले उनको तस्बिर र विवरणसहितको सूचना बढीभन्दा बढी व्यक्तिसम्म पुर्याइदिन आग्रह गरेका छन् ।
साकेतलाई देख्ने वा उनको अवस्थाबारे जानकारी हुने जोकोहीले तत्काल सम्बन्धित निकायलाई खबर गरिदिन अनुरोध गरिएको छ ।




