जनकपुरधाम – धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाहीमा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। घटनापछि उनका श्रीमान् पनि गाउँनजिकै रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
प्राप्त जानकारीअनुसार, रिना यादवको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो। उनी पछिल्लो समय माइतीमा बस्दै आएकी थिइन्। घटनामा एक बालकको खुट्टामा समेत चोट लागेको स्थानीयले बताएका छन्।



स्थानीयका अनुसार रिनाका श्रीमान् केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनीहरूबीच आपसी विवाद हुने गरेको हुन सक्ने आशङ्का गरिए पनि घटनाको वास्तविक कारण भने खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालका अनुसार मृतक महिलाको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
महिलाको हत्या र उनका श्रीमान्को मृत्युको घटनालाई प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।
घटनाको कारण तथा अन्य विवरण अनुसन्धानपछि खुल्ने अपेक्षा गरिएको छ।




