महोत्तरी – विजया दशमी, शुभ दीपावली, छठ र सामाचकेवा पर्वको पावन अवसरमा महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाका विभिन्न वडामा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजना तथा अगुवाइमा सम्पन्न यी कार्यक्रमहरूमा चाडपर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई सुदृढ पार्नेमा विशेष जोड दिइएको छ।

सोनमा गाउँपालिका वडा नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम गाउँपालिका अध्यक्ष एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. अशोक कुमार यादवको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा बोल्दै अध्यक्ष डा. यादवले यस्ता चाडपर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै, जनतासँगको सम्बन्धलाई अझ नजिक र प्रगाढ बनाउन गाउँपालिकाका विभिन्न स्थानमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने उहाँले जानकारी दिनुभयो। उक्त कार्यक्रममा दर्जनौँ स्थानीय युवा, राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो।




यसैगरी, सोनमा गाउँपालिका वडा नम्बर ७, सुन्दरपुरमा पनि रास्वपाका शुभचिन्तक तथा स्थानीय भद्रभलादमीको उपस्थितिमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीका जिल्ला अध्यक्ष शुभम कुमार यादवको प्रमुख आतिथ्य तथा पार्टीका सोनमा गाउँपालिका अध्यक्ष डा. अशोक कुमार यादवको विशेष सहभागितामा सो कार्यक्रम सम्पन्न भएको हो।
हिन्दूहरूको महान् पर्व दीपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा आयोजित उक्त कार्यक्रममा सहभागीहरूले एक-अर्कालाई पर्वको हार्दिक शुभकामना साटासाट गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै रास्वपा महोत्तरीका जिल्ला अध्यक्ष शुभम कुमार यादवले चाडपर्वहरूले जातजाति, भाषा र भूगोलको परिधिभन्दा माथि उठेर सम्पूर्ण समाजलाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। जनतासँगको आत्मीय सम्बन्धलाई अझ मजबुत बनाउँदै समाजमा विद्यमान सद्भाव र मेलमिलापको भावनालाई चिरस्थायी राख्न सबैले आ-आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
शुभकामना आदानप्रदानसँगै कार्यक्रममा उपस्थित स्थानीय बासिन्दा, भद्रभलादमी तथा दलका शुभचिन्तकहरूबीच समाजमा आपसी सद्भाव, एकता र भाइचाराको भावनालाई थप मजबुत बनाउने विषयमा आत्मीय छलफलसमेत भएको थियो। चाडपर्वहरूले सामाजिक एकता र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास नेताद्वय तथा कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका छन्।




