महोत्तरी – महोत्तरीको गौशालामा सोमबार दुर्गा भवानीको प्रतिमा विसर्जन गरिएको छ। प्रतिमा विसर्जनका क्रममा हजारौँ भक्तजनको सहभागिता रहेको थियो।
गौशाला बजार क्षेत्रमा स्थापित दुर्गा भवानीको प्रतिमालाई बाजागाजा, भजनकीर्तन र नाचगानसहित नगर परिक्रमा गराएर गौशाला नगरपालिका–४ स्थित प्रसिद्ध मलहनिया पोखरीमा विसर्जन गरिएको हो। प्रतिमा विसर्जनका क्रममा पोखरीको चारैतर्फ भक्तजन तथा सर्वसाधारणको ठूलो भीड लागेको थियो।




घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएका दुर्गा भवानीका प्रतिमाको नौ दिनसम्म पूजाआराधना गरिएको थियो। महानवमीका दिन हवनयज्ञमा पूर्णाहुति दिएपछि प्रतिमा विसर्जन गर्ने परम्परा रहे पनि गौशालामा हरेक वर्षझैँ यस वर्ष पनि सोमबार प्रतिमा विसर्जन गरिएको हो।

मैथिली परम्पराअनुसार दुर्गा भवानी नौ दिनसम्म माइतीमा बसेर अन्तिम दिन ससुराली फर्किने धार्मिक मान्यता छ। सोही मान्यताअनुसार दुर्गा भवानीलाई बाजागाजा र भजनकीर्तनसहित बिदाइ गर्ने परम्परा रहिआएको छ।विसर्जनका क्रममा दुर्गा भवानीका साथै गणेश, लक्ष्मी, सरस्वती, काली र शिवजीसहित विभिन्न देवीदेवताका प्रतिमाको झाँकी निकालिएको थियो। विसर्जन कार्यक्रममा महोत्तरीका विभिन्न स्थानका साथै छिमेकी भारतीय राज्य बिहारबाट समेत सर्वसाधारण सहभागी भएका थिए।

तराई–मधेश क्षेत्रमा दसैँका अवसरमा नौ दिनसम्म व्रत बसेर दुर्गा भवानीको पूजाआराधना गर्ने परम्परा छ। नवरात्रभरि दुर्गाका नौ स्वरूपको पूजा, कथा वाचन तथा श्रवण गरी महानवमीका दिन हवन गरेपछि व्रत समापन गर्ने चलन छ। नौ दिनसम्म श्रद्धापूर्वक दुर्गा भवानीको आराधना गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

गौशालाको मलहनिया पोखरीमा हुने दुर्गा प्रतिमा विसर्जन यस क्षेत्रको प्रमुख धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा परिचित छ। प्रतिमा विसर्जन हेर्न स्थानीयवासीका साथै आसपासका गाउँ र सीमावर्ती भारतीय क्षेत्रबाट समेत मानिस आउने गरेका छन्। विसर्जनका क्रममा पोखरी परिसरमा देखिएको ठूलो भीडले यस क्षेत्रको धार्मिक आस्था र सांस्कृतिक परम्परालाई प्रतिबिम्बित गरेको थियो।

प्रतिमा विसर्जनका क्रममा शान्तिसुरक्षा कायम गर्न गौशाला इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल रामनगरबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो। सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण तथा भीड व्यवस्थापनका लागि सुरक्षा व्यवस्था मिलाइएको थियो।







