महोत्तरी — बर्दिबास नगर पत्रकार सञ्जाल, महोत्तरीको अध्यक्षमा विशाल बस्नेतको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। निर्वाचन समितिले निर्धारण गरेको निर्वाचन कार्यतालिका र सहमति प्रक्रियाअनुसार नयाँ कार्यसमिति चयन गरिएको हो।
सञ्जालको निर्वाचन कार्यतालिकाअनुसार कात्तिक ९ गते उम्मेदवारी दर्ता, रुजु, दाबी–विरोध तथा उम्मेदवारी फिर्ता लिने प्रक्रिया सम्पन्न भएको थियो। उपाध्यक्ष पदमा सहमति हुन नसकेपछि कात्तिक ११ गते दिउँसो १२ देखि १ बजेसम्म मतदान भएको थियो।



कुल २३ मतदाता रहेको सञ्जालमा २२ जनाले मतदान गरेका थिए। खसेका सबै २२ मत सदर भएको निर्वाचन समितिले जनाएको छ। मतगणनाअनुसार उपाध्यक्ष पदमा रोशनकुमार महतो १२ मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी मनोजकुमार थापाले १० मत प्राप्त गर्नुभएको थियो।
उपाध्यक्षबाहेक अन्य पदाधिकारी तथा सदस्य पदमा भने निर्विरोध रूपमा कार्यसमिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समिति सदस्यद्वय रिमनाथ अधिकारी र हेमकुमारी बराल (सुनिता) द्वारा सार्वजनिक गरिएको अन्तिम परिणामअनुसार नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा विशाल बस्नेत, उपाध्यक्षमा रोशनकुमार महतो, सचिवमा अमृतकुमार महतो, सहसचिवमा सुरेन्द्रकुमार सिंह र कोषाध्यक्षमा उषा आचार्य चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा शर्मिला कुमारी घिमिरे, राधाकृष्ण शर्मा, सागर बस्नेत र मिथलेश महतो चयन हुनुभएको छ।




