काठमाडौं – दलित GEN-Z Alliance र विभिन्न दलित नागरिक समाज संस्थाहरूबीच सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाली दलित आन्दोलनलाई समयानुकूल, एकताबद्ध तथा परिणाममुखी बनाउनुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा सहभागीहरूले दलित आन्दोलनलाई दिगो र प्रभावकारी बनाउन स्पष्ट वैचारिक आधार निर्माण गर्नुपर्ने, राजनीतिक विभाजनभन्दा माथि उठेर साझा मुद्दामा एकता कायम गर्नुपर्ने तथा संविधानले सुनिश्चित गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयनका लागि सशक्त दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।



छलफलका क्रममा “दलित अधिकार दशक” अभियानमार्फत दलित समुदायको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई एकीकृत रूपमा सम्बोधन गर्न सरकारलाई दीर्घकालीन नीति, पर्याप्त बजेट तथा समुदायमुखी कार्यक्रम लागू गर्न दबाब दिनुपर्ने निष्कर्ष निकालिएको थियो ।
त्यसैगरी, डिजिटल माध्यमलाई रणनीतिक रूपमा प्रयोग गर्दै दलित अधिकारका सवाललाई राष्ट्रिय बहसमा स्थापित गर्नुपर्ने, सामाजिक आन्दोलनलाई आर्थिक सशक्तीकरणसँग जोड्दै युवालाई सीप, उद्यमशीलता र रोजगारीका अवसरसँग आबद्ध गराउनुपर्ने सुझाव दिइएको छ ।
सहभागीहरूले दलित समुदायमाथि भएका विभेद तथा सकारात्मक परिवर्तनका घटनाको व्यवस्थित दस्तावेजीकरण र अनुसन्धानलाई सुदृढ बनाउनुपर्नेमा पनि जोड दिएका छन् । साथै महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा मुक्त हरवाचरवा, हलिया, कमैया र कमलरीजस्ता समुदायसँग सहकार्य विस्तार गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो ।
कार्यक्रमले प्रत्येक वडामा कम्तीमा एक दलित GEN-Z एक्टिभिष्ट तयार गरी परिचालन गर्नुपर्ने तथा संगठनको संस्थागत स्थायित्वका लागि दीर्घकालीन रणनीतिक योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने निष्कर्षसमेत निकालेको छ ।
समग्रमा, दलित आन्दोलनलाई न्याय, समानता, सम्मान र समावेशी विकासतर्फ उन्मुख गराउन युवा नेतृत्व, साझा अभियान, सशक्त वकालत तथा समुदाय आधारित संगठित पहल अपरिहार्य रहेको सहभागीहरूको भनाइ थियो ।




