काठमाडौँ – पत्रकार पक्राउ तथा सञ्चार गृहमा प्रहरी प्रवेशको विरोधमा पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघर मण्डलामा मौन धर्ना दिएका छन्।
नेपाल पत्रकार महासंघको आह्वानमा आयोजित धर्नामा सहभागी पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने माग गरेका छन्।



शुक्रबार विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरेको तथा समाचारसँग सम्बन्धित विषयमा पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाको विरोधस्वरूप महासंघले मौन धर्नाको कार्यक्रम तय गरेको थियो।
महासंघका पूर्वपदाधिकारीहरूले शुक्रबार जारी गरेको संयुक्त विज्ञप्तिमा समाचारकक्षमै प्रहरी प्रवेश गरेर पत्रकार नियन्त्रणमा लिने कार्यलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै आपत्ति जनाएका थिए।
उनीहरूले समाचारप्रति असहमति भए कानुनी उपचारको बाटो अपनाउन सकिने उल्लेख गर्दै पत्रकारमाथि दबाब सिर्जना नगर्न सरकारलाई आग्रह गरेका थिए।
शुक्रबार नेपाल प्रेसका विश्वमणि सुवेदीसहितका पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस्तै, नयाँ पत्रिका र दियोपोस्टका पत्रकारलाई खोज्दै प्रहरी सञ्चार गृहमा पुगेको थियो। घटनाको चौतर्फी विरोधपछि नियन्त्रणमा लिइएका पत्रकार रिहा भएका थिए




