जनकपुरधाम । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिएका चुनौती न्यूनीकरण गर्दै किसानलाई जलवायुमैत्री तथा उत्थानशील कृषि अभ्यास अपनाउन प्रोत्साहित गर्ने उद्देश्यले जनकपुरधाममा प्रदेशस्तरीय सिकाइ आदानप्रदान कार्यशाला आयोजना गरिएको छ।
‘जलवायु मैत्री गाउँ मधेश प्रदेश नेपाल परियोजना’ अन्तर्गत कृषक पाठशालाको सबलीकरण तथा जलवायु उत्थानशील कृषि अभ्यासको प्रवर्द्धन र अवलम्बनसम्बन्धी कार्यशाला बुधबार जनकपुरधामस्थित होटल वेलकममा आयोजना गरिएको हो।




कार्यशालामा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव डा. सञ्जयकुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा कृषि विकास निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि ज्ञान केन्द्र, स्थानीय तहका कृषि शाखाका प्रतिनिधि, किसान समूह तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।
कार्यशालामा कृषक पाठशालाको प्रभावकारिता र संस्थागत सबलीकरण, जलवायु उत्थानशील कृषि अभ्यासको प्रवर्द्धन तथा किसानले अवलम्बन गरेका असल कृषि अभ्यासबारे छलफल गरिएको थियो। सहभागीहरूले आ–आफ्ना अनुभव, सिकाइ र अभ्यास आदानप्रदान गर्दै कृषि क्षेत्रमा जलवायु परिवर्तनका असर न्यूनीकरणका उपायबारे विचार प्रस्तुत गरेका थिए।
त्यसैगरी प्रदेशको कृषि ऐन तथा जलवायु परिवर्तनसम्बन्धी व्यवस्था, कृषक पाठशाला सञ्चालन कार्यविधि र जलवायु उत्थानशील कृषि अभ्यासका विषयमा प्रस्तुतीकरण गरिएको थियो। किसानका अनुभव, कृषि विकास शाखाबाट प्राप्त सिकाइ तथा सरोकारवालाका सुझावलाई समेत छलफलमा समेटिएको थियो।
कार्यशालामा कृषक पाठशालाको आगामी कार्ययोजना निर्माण, प्राविधिक निकायसँगको समन्वय र जलवायुमैत्री कृषि अभ्यासलाई समुदायस्तरसम्म विस्तार गर्ने विषयलाई प्राथमिकता दिइएको थियो। साथै, कृषि उत्पादन र किसानको जीविकोपार्जनमा जलवायु परिवर्तनले पार्ने असर कम गर्न स्थानीयस्तरमै अनुकूलनका अभ्यासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा केयर (CARE), राष्ट्रिय कृषक समूह महासंघ नेपाललगायत विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी थिए। सहभागीहरूले जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा उत्पन्न चुनौतीको सामना गर्न किसान, सरकारी निकाय, अनुसन्धान संस्था तथा विकास साझेदारबीच प्रभावकारी सहकार्य र समन्वय आवश्यक रहेको बताएका थिए।
जलवायु परिवर्तनका कारण कृषि उत्पादन, खेती प्रणाली र किसानको जीविकोपार्जनमा चुनौती थपिँदै गएको अवस्थामा यस्ता सिकाइ आदानप्रदान कार्यक्रमले किसानको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नुका साथै दिगो तथा जलवायु उत्थानशील कृषि प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।




