जीवनराज दाहाल,बर्दिबास – बर्दिबास युथ क्लबको आयोजनामा महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित श्री देउराली माध्यमिक विद्यालयको प्राङ्गणमा ‘स्लो बाइक रेस कम्पिटिसन –२०८३’ आयोजना हुने भएको छ ।
आगामी कार्तिक २३ गते सोमबार बिहान १० बजेदेखि सुरु हुने प्रतियोगितामा महिला तथा पुरुष दुवै समूहका सहभागीले प्रतिस्पर्धा गर्न पाउनेछन् । प्रतियोगितामा सहभागी हुन महिलाका लागि १०१ रुपैयाँ र पुरुषका लागि ३०१ रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।



प्रतियोगिताअन्तर्गत महिला र पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धीलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ ।
महिलातर्फ प्रथम हुनेले ११ हजार १११ रुपैयाँ, द्वितीय हुनेले ५ हजार ५५५ रुपैयाँ र तृतीय हुनेले २ हजार २२२ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, पुरुषतर्फ प्रथम हुनेले २२ हजार २२२ रुपैयाँ, द्वितीय हुनेले ११ हजार १११ रुपैयाँ र तृतीय हुनेले ५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुन इच्छुक महिला तथा पुरुषले आयोजक बर्दिबास युथ क्लबसँग सम्पर्क गरी वा पोस्टरमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर सहभागिता जनाउन सक्नेछन् ।
स्थानीय युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउने, मनोरञ्जन प्रदान गर्ने तथा नयाँ प्रकारको खेल गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । सात वर्षदेखि ‘स्लो बाइक रेस’ प्रतियोगिता गर्दै आएको आयोजकले प्रतियोगितामा उत्साहजनक सहभागिताका लागि सबैलाई आह्वान गरेको छ ।




