महोत्तरी- नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर–४ अन्तर्गत औरही नगर कार्यसमितिको नेतृत्व परिवर्तनसँगै संगठनात्मक जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
औरही नगरपालिका–२ स्थित नेपाली कांग्रेस नगर कार्यसमितिको पार्टी कार्यालयमा सोमबार बसेको बैठकमा पूर्व नगर सभापति जोगेन्द्र यादवले नवनिर्वाचित नगर सभापति मैथुल प्रसाद यादवलाई कार्यसमितिको रजिस्टर तथा आवश्यक अभिलेख हस्तान्तरण गर्नुभएको हो।




नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गत असोज ६ गते मैथुल प्रसाद यादव नगर सभापतिमा सर्वसम्मत चयन हुनुभएको थियो। उहाँकै अध्यक्षतामा बसेको बैठकमा पूर्व सभापति यादवले पार्टीको नगरस्तरीय नेतृत्व तथा संगठनात्मक जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।
पूर्व नगर सभापति जोगेन्द्र यादवले गाविस गठनकालमा दुई कार्यकाल र नगरपालिका गठनपछि नगर सभापतिका रूपमा दुई कार्यकाल गरी चार कार्यकाल स्थानीय संगठनको नेतृत्व गर्नुभएको थियो। लामो समय संगठनको नेतृत्व गर्नुभएका उहाँले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै पार्टीका आवश्यक अभिलेखसमेत उपलब्ध गराउनुभएको हो।
जिम्मेवारी हस्तान्तरणका क्रममा पूर्व सभापति यादवले नेतृत्व परिवर्तन पार्टीको नियमित संगठनात्मक प्रक्रिया भएको उल्लेख गर्दै नयाँ नेतृत्वलाई सफल बनाउन आफ्नो तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले पार्टीभित्र आपसी एकता, सहकार्य र समन्वय कायम राख्दै सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। अग्रज नेताहरूको अनुभव र सुझावलाई आत्मसात् गर्दै नयाँ नेतृत्वले संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो।
नवनिर्वाचित नगर सभापति मैथुल प्रसाद यादवले आफूलाई जिम्मेवारी प्रदान गर्ने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गर्नुभयो। उहाँले पार्टीको नीति, सिद्धान्त र विधानअनुसार नगरभित्र संगठनलाई व्यवस्थित बनाउँदै वडा तहसम्मका गतिविधि सक्रिय बनाउने प्रतिबद्धता जनाउनुभयो।

नगर सभापति यादवले संगठन सुदृढीकरणका लागि वडा तहदेखि नगर तहसम्मका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। अग्रज नेताहरूको अनुभव र सुझावलाई आत्मसात् गर्दै सबैलाई समेटेर संगठनात्मक गतिविधि सञ्चालन गर्ने उहाँले उल्लेख गर्नुभयो।
बैठकले आगामी २०८३ साल कात्तिक २५ गते बुधबार दिउँसो १२ बजे श्री सोनामाई मन्दिरको प्राङ्गणमा नगरस्तरीय बैठक तथा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। सोही अवसरमा नगरभित्र संगठन विस्तारसम्बन्धी छलफलसमेत गरिने जनाइएको छ।

कार्यक्रममा नगरपालिकाका सबै वडा सभापतिले आ–आफ्नो वडाका क्रियाशील सदस्य, वडा सदस्य तथा डेलिगेट सदस्यलाई जानकारी गराई अनिवार्य उपस्थित गराउनुपर्ने नगर सभापति यादवले बताउनुभयो। कार्यक्रममार्फत नगरभित्रका पार्टी नेता तथा कार्यकर्ताबीच भेटघाट, संगठनात्मक छलफल र आपसी समन्वयलाई थप व्यवस्थित बनाउने उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो।
बैठकमा नगर उपसभापति सुनिता देवी, सचिव रामु यादव, सहसचिवद्वय श्यामकिशोर यादव र रिणत राउतसहित कार्यसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी रिन्कु देवी, गोलोिया देवी, प्रमिला देवी, लक्ष्मिनिया देवी, दौतलिया देवी, तेत्री देवी, इन्दु देवी, प्रेमकान्त देव, महेन्द्र महतो, काछि देवी, शेषनारायण साह, रामपुनित यादव, डिलिप यादव, रामनाथ यादव, रामेश्वर राय, रामशंकर यादव, मोसन बैठा, रञ्जित यादव, विमलेन्द्र यादव, विमला देवी, सकलदेव महरा र सरिता कु. यादवको सहभागिता रहेको थियो।

बैठकमा ईश्वर यादव, शत्रुधन साह, ब्रह्मदेव यादव, कमलेशकुमार यादव, तेजनारायण यादव, नरेश यादव, श्रीनारायण यादव, अच्छेलाल राय, रामविलास राय, वडा नम्बर–७ का गणेश यादव, वडा नम्बर–९ का रघुनन्दन चौधरी, रामप्रभु साह, प्रमेश यादव, धर्वेन्द्रकुमार यादव र अनिल चौधरीलगायतको उपस्थिति रहेको थियो।
















