धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी कात्तिक २८ गते दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिने हुनुभएको छ।
मुख्यमन्त्रीका प्रेस संयोजक सुरेश यादवले मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।



मुख्यमन्त्री यादवलाई समर्थन गर्ने विषयमा अन्य दलबाट स्पष्ट प्रतिबद्धता नआएकाले विश्वासको मत लिने मिति तय गर्न ढिलाइ भएको उहाँले बताउनुभयो । वर्तमान सरकारलाई निरन्तरता दिन मुख्यमन्त्रीले विभिन्न राजनीतिक दलसँग छलफल गरिरहनुभएको उहाँको भनाइ छ ।
‘मुख्यमन्त्रीले वर्तमान सरकारलाई सहयोग गर्न अन्य दलसँग छलफल गरिरहनुभएको छ,’ प्रेस संयोजक यादवले भन्नुभयो, ‘संविधान र कानुनले उपलब्ध गराएको समयसीमाभित्र विश्वासको मत प्राप्त गर्न विभिन्न दलसँग संवाद जारी छ ।’
एमालेले सरकार गठनका बेला भएको सहमति मुख्यमन्त्री यादव नेतृत्वको सरकारले कार्यान्वयन नगरेको भन्दै गत असोज ३० गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । त्यसैगरी नेकपाले पनि कात्तिक २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
दुई प्रमुख दलको समर्थन गुमाएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकारको भविष्य अन्य दलको समर्थनमा निर्भर बनेको छ । कात्तिक २८ गते हुने विश्वासको मतसम्बन्धी मतदानले मधेश प्रदेशको आगामी राजनीतिक समीकरणसमेत निर्धारण गर्ने देखिएको छ ।।




