काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सभापति थापाले ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा किराँत धर्म र संस्कृतिको मौलिक पहिचान एवं संरक्षणमा फाल्गुनन्दले पुर्याएको योगदान अतुलनीय रहेको स्मरण गरेका छन्।



महागुरु फाल्गुनन्दले देखाएको सत्य, अहिंसा, समानता, सदाचार र सामाजिक सुधारको मार्गले सबैलाई सभ्य, न्यायपूर्ण र सद्भावपूर्ण समाज निर्माणका लागि प्रेरित गरिरहने उनले उल्लेख गरेका छन्।
‘महागुरु फाल्गुनन्दले देखाउनुभएको सत्य, अहिंसा, समानता, सदाचार र सामाजिक सुधारको मार्गले हामी सबैलाई सभ्य, न्यायपूर्ण र सद्भावपूर्ण समाज निर्माणका लागि प्रेरित गरिरहोस्,’ सभापति थापाले लेखेका छन्, ‘उहाँका विचार, दर्शन र आदर्शलाई आत्मसात् गर्दै विविधताबीच एकता, आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउन सकौँ।’
नेता थापाले फाल्गुनन्दका विचार, दर्शन र आदर्शलाई आत्मसात् गर्दै विविधताबीच एकता, आपसी विश्वास, सहिष्णुता र भाइचाराको भावना अझ प्रगाढ बनाउन सबैमा आह्वानसमेत गरेका छन्।




