मधेशको महान् पर्व छठ मनाउन काठमाडौँबाट घर फर्किँदै गरेका यात्रु सवार विद्युतीय (इभी) हायस गाडी मकवानपुरमा दुर्घटना हुँदा एकै गाउँका १० जनाको मृत्यु भएको छ। दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ स्थित सुन्दरपुर गाउँका बासिन्दाले ज्यान गुमाएपछि गाउँ शोकमा डुबेको छ।
काठमाडौँमा फलफूललगायत विभिन्न व्यापार व्यवसाय गर्दै आएका सुन्दरपुरवासी छठ पर्व मनाउन मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हायस गाडी रिजर्भ गरेर घर फर्किँदै थिए। उनीहरू राति नै काठमाडौँबाट सर्लाहीका लागि प्रस्थान गरेका थिए। तर, घर पुग्न नपाउँदै बिहानीपख उनीहरू सवार हायस दुर्घटनामा परेको थियो।



काठमाडौँ–कुलेखानी–भीमफेदी सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढी नजिकै हायस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल भीरमा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले आज दिउँसो जारी गरेको सूचनाअनुसार दुर्घटनामा परी १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
घाइते हुनेमा सुन्दरपुर गाउँकै ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादव रहेका छन्। दुर्घटनास्थल अत्यन्तै भिरालो र दुर्गम क्षेत्रमा रहेकाले उद्धार कार्यमा समेत कठिनाइ भएको थियो। मृतकहरूको सनाखत तथा विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर गाउँमा फैलिएसँगै सदरमुकाम मलङ्गवाबाट करिब छ किलोमिटर पश्चिममा रहेको सुन्दरपुर गाउँ शोकमग्न बनेको छ। छठ पर्वको तयारी र पारिवारिक भेटघाटको उल्लास हुनुपर्ने समयमा गाउँमा रुवाबासी छाएको छ। चाडपर्व मनाउन घर फर्किने क्रममा भएको यस घटनाले गाउँवासीलाई स्तब्ध बनाएको छ।
यता, दुर्घटनाको खबर पाएलगत्तै आफू घटनास्थलतर्फ प्रस्थान गरिसकेको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्ण यादवले जानकारी दिनुभएको छ। घाइतेहरूको उपचार तथा मृतकहरूको शव व्यवस्थापनका लागि आवश्यक पहल भइरहेको जनाइएको छ।




