आकाश कुमार साह,महोत्तरी- नेपाली मौलिक कला, संस्कृति, परम्परा तथा लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मिथिला युवा क्लब तथा Victory Dance Academy को संयुक्त आयोजनामा महोत्तरी र धनुषाका विभिन्न स्थानमा तीनदिने देउसी–भैलो कार्यक्रम सम्पन्न भएको छ।
दीपावलीको भोलिपल्टदेखि सुरु भएको उक्त कार्यक्रममा क्लब तथा एकेडेमीका पदाधिकारी, सदस्य, कलाकार र विद्यार्थीहरूले विभिन्न घर–आँगन, सामाजिक व्यक्तित्वका निवास तथा व्यावसायिक प्रतिष्ठानमा पुगेर परम्परागत देउसी–भैलो प्रस्तुत गरेका थिए।




मिथिला युवा क्लबका सचिव आकाश कुमार साहका अनुसार क्लबले विगत करिब १० वर्षदेखि निरन्तर रूपमा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ। देउसी–भैलो मनोरञ्जनको माध्यम मात्र नभई पुस्तौँदेखि चलिआएको मौलिक लोकसंस्कृति, परम्परा, सामाजिक सद्भाव र आपसी एकताको प्रतीकसमेत रहेको उहाँले बताउनुभयो।
आधुनिकताको प्रभावसँगै मौलिक परम्परा ओझेलमा पर्दै गएकाले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्दै यसको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिइएको उहाँको भनाइ छ।

क्लबका अध्यक्ष अनुतम साह (शिवम साह) ले कार्यक्रम सञ्चालनका क्रममा विभिन्न चुनौतीको सामना गर्नुपरेको बताउनुभयो। विशेषगरी विद्यार्थीहरूलाई विभिन्न स्थानमा पुर्याएर देउसी–भैलो प्रस्तुत गराउनु तथा क्लबमा आबद्ध छात्राहरूको सहभागिता र व्यवस्थापन सुनिश्चित गर्नु प्रारम्भिक चरणमा चुनौतीपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो। तर, सबैको सहयोग, सहकार्य र उत्साहका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सकिएको उहाँले बताउनुभयो।
तीनदिने कार्यक्रमका क्रममा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उज्ज्वल कुमार झाको निवासमा देउसी–भैलो प्रस्तुत गरिएको थियो। त्यसैगरी धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य मनिष झाको निवासमा समेत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको आयोजकले जनाएको छ।

यसैगरी जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार, मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डल, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव तथा उपाध्यक्ष बन्धना पाण्डेको निवासमा पुगेर देउसी–भैलो खेलिएको थियो। अधिवक्ता राजेन्द्र कुमार ठाकुरको घर–आँगनमा समेत टोलीले सांस्कृतिक प्रस्तुति दिएको थियो।
कार्यक्रमअन्तर्गत जलेश्वर नगरपालिका–१ का वडाध्यक्ष अनिल झा, ALHEBS School का संस्थापक लवराजा सिंह तथा जलेश्वरस्थित Smile Dental Care मा पनि देउसी–भैलो प्रस्तुत गरिएको थियो।

त्यसैगरी Sartvik Trade Link Pvt. Ltd. का संस्थापक तथा युवा नेता सुजीत पाठक र Bajaj Showroom का जलेश्वर तथा जनकपुर शाखा प्रमुख एवं युवा नेता सन्तोष साहको कार्यस्थलमा पुगेर पनि टोलीले सांस्कृतिक प्रस्तुति दिएको थियो।
यसका अतिरिक्त प्रशान्त बिक्षा, महोत्तरी गाउँपालिका–१ सानुकडाका अनिल राय यादव तथा महोत्तरी गाउँपालिकाका अजय जंग रायको घर–आँगनमा समेत देउसी–भैलो कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रमको अन्तिम दिन मिथिला युवा क्लबका सहसचिवको घर–आँगनमा देउसी–भैलो प्रस्तुत गर्दै यस वर्षको तीनदिने सांस्कृतिक अभियान औपचारिक रूपमा समापन गरिएको थियो।

कार्यक्रममा क्लबका अध्यक्ष अनुतम साह (शिवम साह), सचिव आकाश कुमार साह, सहसचिव केशव झा, सदस्य राजु पासवान तथा सल्लाहकार प्रकाश कुमार साहलगायत पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो। त्यसैगरी विद्यार्थी अभिनाश पासवान, निशा कुमारी, प्रेङ्का पासवान, सुलेखा पासवान, दिपिका मण्डल र दिपाली झासहितको टोलीले सांस्कृतिक प्रस्तुति दिएको थियो।
करिब एक दशकदेखि निरन्तर सञ्चालन हुँदै आएको यस अभियानले महोत्तरी र धनुषाका विभिन्न स्थानमा सांस्कृतिक उत्साहसँगै सामाजिक सद्भाव र आपसी एकता अभिवृद्धि गर्न सहयोग पुर्याएको आयोजकको भनाइ छ। पछिल्लो समय आधुनिक मनोरञ्जनका माध्यम विस्तार हुँदै जाँदा परम्परागत लोकसंस्कृति ओझेलमा पर्न सक्ने अवस्थामा युवाहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको यस्तो अभियानले मौलिक परम्पराको संरक्षणमा योगदान पुर्याउने विश्वास गरिएको छ।

देउसी–भैलो नेपाली समाजको सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा हो। यसले मनोरञ्जनसँगै सामाजिक सम्बन्ध प्रगाढ बनाउने, पुस्ताबीच सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने र समुदायमा आपसी सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। त्यसैले यस्ता सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनु आवश्यक रहेको आयोजकले जनाएको छ।
मिथिला युवा क्लब तथा Victory Dance Academy ले संस्कृति र परम्पराको संरक्षणमा युवाको सहभागिता बढाउँदै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।









