महोत्तरी – औरही नगरपालिका–८ मा ट्रान्सफर्मर जडान गर्ने स्थान निर्धारणसम्बन्धी विवादका क्रममा नगर प्रमुख प्रदिपकुमार खड्काको कार्यकक्षमा प्रवेश गरी उहाँमाथि आक्रमण तथा कार्यालयमा तोडफोड भएको घटनाप्रति जिल्ला समन्वय समिति महोत्तरीले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णद्वारा जारी विज्ञप्तिअनुसार भदौ ३१ गते बिहान करिब ११ः३० बजे एक समूह नगर प्रमुखको कार्यकक्षमा एक्कासि प्रवेश गरी चुकुल लगाएर नगर प्रमुखमाथि आक्रमण गरेको थियो । सो क्रममा कार्यालयमा तोडफोड गर्नुका साथै कर्मचारी तथा सेवाग्राहीमाथि हातपात र हुलहुज्जत गरिएको तथा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याइएको विज्ञप्तिमा उल्लेख छ ।



नागरिकका आधारभूत सेवा तथा सार्वजनिक हितसँग सम्बन्धित विषयमा असहमति वा गुनासो राख्नु नागरिकको अधिकार भए पनि त्यसका नाममा कानून हातमा लिई निर्वाचित जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहीमाथि हातपात गर्ने, सार्वजनिक कार्यालयमा जबर्जस्ती प्रवेश गर्ने तथा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने कार्य स्वीकार्य नहुने समितिले जनाएको छ ।
यस्ता गतिविधिले सार्वजनिक सेवा प्रवाह, स्थानीय तहको संस्थागत मर्यादा तथा कानूनको शासनमा प्रत्यक्ष असर पार्ने उल्लेख गर्दै समितिले घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायसँग आग्रह गरेको छ ।
घटनामा संलग्न व्यक्तिको पहिचान गरी आवश्यक प्रमाण सङ्कलन गर्न तथा संलग्नता पुष्टि भएका व्यक्तिलाई प्रचलित कानूनबमोजिम तत्काल नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाउन समितिले आग्रह गरेको छ । साथै, आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन जिल्लामा प्रभावकारी शान्ति–सुरक्षा व्यवस्था कायम गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।
कानूनको शासन, सार्वजनिक सम्पत्तिको संरक्षण तथा जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीको सुरक्षा सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै समितिले सबै राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज तथा आम नागरिकलाई असहमति र विवादको समाधान संवाद, समन्वय, सहकार्य तथा कानुनी प्रक्रियाबाट खोज्न आग्रह गरेको छ ।
सामाजिक सद्भाव कायम राख्न सबै पक्षले संयमित र मर्यादित व्यवहार गर्नुपर्नेमा जोड दिँदै समितिले विवादको समाधान कानुनी प्रक्रियाबाट खोज्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णको हस्ताक्षरसहित जारी विज्ञप्तिमार्फत सो आग्रह गरिएको हो ।





