महोत्तरी– लोकआस्था,धार्मिक निष्ठा र प्रकृतिप्रतिको उपासनाको प्रतीक मानिने महापर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। तिहार सकिएसँगै तराई–मधेशसहित सम्पूर्ण मिथिलाञ्चलमा चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले नहाय–खाय विधि गर्दैछन्।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि सम्पन्न हुने धार्मिक परम्परा छ।



छठ पर्वको पहिलो दिनलाई नहाय–खाय अर्थात् अरबा–अरबाइन भनिन्छ। यस दिन व्रतालुहरूले बिहानै नदी, पोखरी तथा अन्य जलाशयमा स्नान गरी घरको सरसफाइ गर्ने र शुद्ध सात्विक भोजन ग्रहण गर्ने परम्परा छ। यस दिनदेखि नै व्रतालुहरूले माछा, मासु, लसुन, प्याज, कोदो, मसुरलगायतका खाद्यवस्तु त्याग गरी शुद्धता, संयम र पवित्रताको पालना गर्ने गर्दछन्।
सूर्यदेव र षष्ठीदेवी अर्थात् छठी माताको उपासना गरिने यस पर्वमा परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा आरोग्यको कामना गरिन्छ। धार्मिक मान्यताअनुसार श्रद्धा र निष्ठापूर्वक छठी माताको आराधना गर्दा मनोकामना पूरा हुने तथा परिवारमा सुख–समृद्धि कायम रहने जनविश्वास छ।
छठ पर्वको आगमनसँगै मिथिलाञ्चलका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ। पर्वको तयारीस्वरूप घरघरमा छठका परम्परागत गीत गुञ्जिन थालेका छन्। सूर्यदेव र छठी माताको महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ।
छठको तयारीका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयको सरसफाइ र छठघाट निर्माणमा जुटेका छन्। विशेषगरी युवाहरू घाट निर्माण, सजावट तथा व्यवस्थापनमा सक्रिय देखिएका छन्। विभिन्न स्थानमा बाँसका भाटा र झिक्रा प्रयोग गरी घाट सजाउने, सरसफाइ गर्ने तथा रङरोगन गर्ने काम भइरहेको छ। घर, सडक र सार्वजनिक स्थानमा झिलिमिली बत्ती जडान गरिएका छन्।
छठ पर्वका लागि आवश्यक पूजासामग्री खरिद गर्न स्थानीय बजारमा सर्वसाधारणको भीड बढेको छ। बाँसबाट निर्मित ढाकी, डाली, नाङ्लो, सुपली, छिटी तथा माटाका भाँडाकुँडा, दियो र पाला लगायतका सामग्रीको बिक्री बढेको छ। छठमा नयाँ तथा शुद्ध सामग्री प्रयोग गर्ने धार्मिक परम्पराका कारण यस्ता सामग्रीको माग बढेको व्यापारीहरू बताउँछन्।
पर्वका अवसरमा केराको घारी, नरिवल, उखु, अदुवा, बेसारको बोट, विभिन्न फलफूल तथा अन्य पूजासामग्रीको विशेष महत्त्व रहेको छ। व्रतालुहरूले पूजाका लागि आवश्यक सामग्री जुटाउनेदेखि प्रसाद तयार पार्नेसम्मका काममा परिवारका सदस्यको सहयोग लिने गरेका छन्।
छठको प्रसादका रूपमा ठेकुवा, भुसुवा तथा अन्य परम्परागत परिकार तयार गर्ने काम घरघरमा भइरहेको छ। विशेषगरी मिथिलाका महिलाहरू अर्थात् मिथिलानीहरू छठका लागि आवश्यक चामल र गहुँको पिठो तयार गर्न व्यस्त छन्। शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा गहुँ तथा चामललाई घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने परम्परा अझै कायम छ। परिवारका सदस्यको सहयोगमा तयार गरिने प्रसादलाई छठ पूजामा विशेष महत्त्वका साथ चढाउने गरिन्छ।
छठ पर्वको दोस्रो दिन खरना विधि गरिन्छ। यस दिन व्रतालुहरूले दिनभर उपवास बसेर साँझ पूजा गरी खीर, रोटी तथा अन्य शुद्ध प्रसाद ग्रहण गर्ने गर्दछन्। खरना सम्पन्न भएपछि व्रतालुहरूको निर्जला उपवास सुरु हुन्छ। यस अवधिमा व्रतालुहरूले अन्न र जलसमेत ग्रहण नगरी कठोर व्रत बस्ने परम्परा छ।
पर्वको तेस्रो दिन साँझ व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा निर्माण गरिएका छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। चौथो तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुन्छ।
छठ पर्वलाई सूर्यको उपासना र प्रकृतिप्रतिको सम्मानको प्रतीकका रूपमा समेत लिइन्छ। सूर्यलाई पृथ्वीमा जीवन, ऊर्जा र प्रकाश प्रदान गर्ने देवताका रूपमा पूजा गरिन्छ। धार्मिक ग्रन्थ तथा जनविश्वासअनुसार षष्ठी देवीको आराधनाबाट सन्तान प्राप्ति, सन्तानको रक्षा, आरोग्य तथा सुख–समृद्धि प्राप्त हुने विश्वास छ।
धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देशसमेत प्रवाह गर्दै आएको छ। यस पर्वका अवसरमा पुराना मनमुटाव बिर्सेर विभिन्न जातजाति, वर्ग र समुदायका मानिस एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्ने परम्परा छ। छठघाटको सरसफाइ, निर्माण र सजावटमा स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता रहने गरेको छ।
पहिले तराई–मधेशमा विशेष रूपमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा समेत मनाउन थालिएको छ। यसले छठ पर्वको धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व देशव्यापी रूपमा विस्तार हुँदै गएको देखाउँछ।
लोकआस्था, धार्मिक निष्ठा र मिथिलाको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको छठ पर्वले पुस्तौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिनुका साथै सामाजिक एकता, सहकार्य र प्रकृतिप्रतिको सम्मानलाई समेत बलियो बनाउँदै आएको छ।




