महोत्तरी – छठ पर्व सुरु भएसँगै महोत्तरीसहित तराई–मधेशका जिल्लाका स्थानीय बजारमा केराको माग ह्वात्तै बढेको छ । छठ पर्वमा केरालाई प्रमुख प्रसादका रूपमा चढाउने धार्मिक परम्परा रहेकाले बजारमा यसको कारोबारसमेत उल्लेख्य रूपमा बढेको हो ।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दा केराको सिङ्गै घरी चढाउने चलन छ । यही परम्पराका कारण औरही, गौशाला, रामगोपालपुर, बर्दिबास र जलेश्वरलगायतका बजारमा केरा किन्ने ग्राहकको चहलपहल बढेको छ । जिल्लाका मुख्य बजारदेखि ग्रामीण हाटबजारसम्म केराको व्यापार बढेको व्यापारीले बताएका छन् ।




छठ पर्वमा केराको माग उच्च हुने गरे पनि स्थानीय उत्पादनले बजारको माग धान्न नसक्दा प्रत्येक वर्ष बाहिरी जिल्लाबाट केरा ल्याउनुपर्ने अवस्था रहेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो ।
यस वर्ष भारतबाट केरा आयातमा प्रतिबन्ध लगाइएकाले नेपाली उत्पादनमै निर्भर हुनुपरेको छ । नेपाल–भारत सीमा क्षेत्रमा गरिएको कडाइका कारण भारतीय केरा भित्र्याउन नसकिएको औरही नगरपालिका–१ का व्यापारी उमेश साहले बताउनुभयो । उहाँका अनुसार यसले बजारमा केराको आपूर्तिमा समेत प्रभाव पारेको छ ।

माग बढेसँगै केराको मूल्य पनि बढेको छ । सम्सी गाउँपालिका–५ का रामध्यान मण्डलका अनुसार अहिले स्थानीय बजारमा केराको प्रतिघरी मूल्य ६०० देखि एक हजार रुपियाँसम्म पुगेको छ । यो मूल्य गत वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो ।
स्थानीय उत्पादनले माग धान्न नसकेपछि व्यवसायीले विभिन्न जिल्लाबाट केरा सङ्कलन गरी बजारमा ल्याउने गरेका छन् । औरही बजारमा फलफूलको व्यापार गर्दै आउनुभएका निर्ज शाहले यस वर्ष मात्रै करिब ७२ ट्रक केरा भित्र्याइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार औरही बजारमा बिक्रीका लागि ल्याइएका गोपाल र वंशीभोग जातका केरा महोत्तरी, रौतहट, सर्लाही, सप्तरीको भारदह, भान्टाबारी तथा सुनसरीको इनरुवाबाट ल्याइएको हो । त्यसैगरी मालभोग, मिरिचमान र चिनी चम्पालगायत जातका केरा पनि विभिन्न स्थानबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिनुभयो ।
सचिव पूर्वेका अनुसार छठ पर्वलाई लक्षित गरी यस वर्ष केराको मूल्य गत वर्षको तुलनामा करिब २५ प्रतिशतले वृद्धि भएको छ । छठ पर्व मनाउनेको सङ्ख्या प्रत्येक वर्ष बढ्दै जानु र मागअनुसार उत्पादन नहुनुले मूल्यमा वृद्धि भएको उहाँको भनाइ छ । बजारको मागलाई ध्यानमा राखेर गत वर्षको तुलनामा यस वर्ष १५ देखि २० ट्रक बढी केरा मगाइएको उहाँले बताउनुभयो ।

समितिका अध्यक्ष यादवका अनुसार १० चक्के एउटा ट्रकमा करिब एक हजार २०० घरी केरा आउने गर्छ । एउटा ट्रक जनकपुरधामसम्म ल्याउँदा करिब छ लाख रुपियाँ खर्च हुने गरेको छ । बजारमा केराको जात र गुणस्तरअनुसार प्रतिघरी ५०० देखि एक हजार रुपियाँसम्म मूल्य पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

नेपालका विभिन्न क्षेत्रमा मालभोग, झापाली मालभोग र विलियम हाइब्रिड रोबस्टालगायत जातका केरा उत्पादन हुँदै आएका छन् । तर, प्राविधिक समस्या, आधुनिक खेती प्रणालीको अभाव र उत्पादन व्यवस्थापनमा देखिएका कमजोरीका कारण मागअनुसार उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।

छठ पर्वका बेला केराको माग उच्च हुने भए पनि स्वदेशी उत्पादन पर्याप्त नहुँदा बजारमा आपूर्तिको समस्या दोहोरिने गरेको छ । केराको व्यावसायिक खेती विस्तार, उन्नत प्रविधिको प्रयोग, किसानलाई प्राविधिक सहयोग र उत्पादन व्यवस्थापनमा सुधार गर्न सके स्वदेशमै बढ्दो माग पूरा गर्नुका साथै बाह्य निर्भरता घटाउन सकिने व्यवसायी बताउँछन् ।














