
जनकपुरधाम । नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा अध्यक्ष पदका उम्मेदवारबीच चर्किएको विवादले झडपको रूप लिएको छ । विवादका क्रममा कुर्सी हानाहान र हात हालाहाल हुँदा पाँच जना नेता कार्यकर्ता घाइते भएका छन् । झडपका कारण निर्वाचन प्रक्रिया पूर्ण रूपमा रोकिएको छ ।
एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबीच झडप भएको हो । झडपका क्रममा एक अर्कालाई रड प्रहार गरेका हुन् ।
रड प्रहारबाट राजन यादव, सत्यनारायण महासेठ र महेश दासको टाउको फुटेको छ । अन्य कैयौं कार्यकर्तालाई सामान्य चोट लागेको छ । अधिवेशनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि त्यहाँको अवस्था तनावग्रस्त छ ।
विधान विपरीत परेको उम्मेदवारी खारेज गरेर शान्तिपूर्ण ढंगले मतदान प्रक्रिया अगाडी बढाउनुपर्ने अरगरिया पक्षको अडान थियो । तर रघुवीर समूहले उम्मेदवारी खारेज गराउन नहुने भन्दै तोडफोडमा उत्रेपछि झडप भएको अधिवेशन प्रतिनिधिहरु बताउँछन् ।
एमाले केन्द्रीय सचिव रघुवीर महासेठ समर्थित अध्यक्ष पदका उम्मेदवार भोला यादव र केन्द्रीय सदस्य उमाशंकर अरगरिया निकट लक्ष्मीनारायण यादव पक्षबीचको तीव्र प्रतिस्पर्धाले अधिवेशन तनावग्रस्त बनेको हो । दुवै समूहका कार्यकर्ताहरूबीच सोमबार रातिदेखि नै वादविवाद सुरु भएको थियो भने मंगलबार बिहान मतदान सुरु हुनु केही समय अघिदेखि नै स्थिति नियन्त्रण बाहिर जान थाल्यो ।
निर्वाचन समितिले सोमबार राति उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेपछि भोला यादव पक्षले सूचीमा मनपरी ढंगले नाम हटाइएको भन्दै आपत्ति जनाएका थिए । यथाशीघ्र मतदान प्रक्रिया सुरु गर्नुपर्ने माग राख्दै उनीहरूले आक्रोश प्रकट गरे । अर्कोतर्फ, लक्ष्मीनारायण यादव समूहले सूचीमा गम्भीर त्रुटी रहेको दाबी गर्दै मतदान बहिस्कारको चेतावनी दिएका थिए ।
जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति भवनको सभाहलभित्र सुरुमा कुटाकुट भएको थियो । कुटाकुटपछि अरगरिया समूह भित्रै धर्ना बसेका थिए भने रघुवीर समूह बाहिर प्रदर्शन गरिरहेका थिए ।
दुई पक्षबीच विवाद बढ्दै गएपछि झडपमा परिणत हुँदा अधिवेशन बुधबारसम्मका लागि स्थगित गरिएको हो ।
उपाध्यक्ष पदमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव प्रतिस्पर्धामा छन् भने सचिवका लागि दिपन ठाकुर र धीरेन्द्र कुमार मण्डल उम्मेदवार छन् । उपसचिव पदमा विक्रम थापा, सुरेश ठाकुर र हरिकिशोर यादवबीच प्रतिस्पर्धा छ । महिलातर्फ उपसचिवमा किरण कापर, रुपा कुमारी मिश्र र सारदा घिसिङ चुनावी मैदानमा छन् ।
यस अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिनुपर्नेछ ।