धनुषा । मधेश प्रदेश सरकारले कात्तिक २६ गते मकवानपुरको भीमफेदीमा भएको सडक दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई जनही एक लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
मुख्यमन्त्री श्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा शुक्रवार बसेको मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले दुर्घटनामा मृत्यु भएकाका परिवारलाई राहतस्वरूप जनही एक लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक सुरेश यादवले जानकारी दिनुभयो ।



बैठकले दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रादेशिक अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।
त्यसैगरी, लामो समयदेखि अवरुद्ध मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेदेखि सुचारु गराउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
प्रदेशसभा बैठक सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णयसँगै प्रदेशसभाको बैठक पुनः सञ्चालन हुने बाटो खुलेको छ ।




