धनुषा । मधेश प्रदेशसभाको अधिवेशन शनिबारदेखि सुरु हुने भएको छ ।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।



प्रदेश प्रमुखको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै २०८३ साल कार्तिक २८ गते शनिबार दिउँसो १ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको जनाएको छ ।
मधेश प्रदेश मन्त्रिपरिषद्को कार्तिक २७ गते बसेको बैठकले प्रदेशसभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा प्रदेश प्रमुखबाट अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रदेशसभाको अधिवेशन आह्वानसँगै शनिबार दिउँसो १ बजेदेखि प्रदेशसभाको बैठक बस्ने बाटो खुलेको छ ।





