विराटनगर । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशको पुरुष फुटबल टोली छनोट गर्न धरानमा प्रदेशस्तरीय प्रतियोगिता सुरु भएको छ। शुक्रबारदेखि धरानस्थित एन्फा एकेडेमीमा सुरु भएको प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाको सहभागिता रहेको छ।

प्रतियोगिताको पहिलो दिन धनकुटा, तेह्रथुम, संखुवासभा, पाँचथर र खोटाङले जित निकालेका छन्। पहिलो खेलमा धनकुटाले मोरङलाई २–० गोलले पराजित गर्यो। दोस्रो खेलमा तेह्रथुमले इलामलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हरायो। त्यस्तै, संखुवासभाले सुनसरीलाई २–० गोलले पराजित गर्दा पाँचथरले ओखलढुंगालाई २–० गोलले हराएको थियो।




पाँचौँ खेलमा खोटाङले उदयपुरलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गरेको थियो। दिनको अन्तिम खेलमा झापा र भोजपुरबीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा खेलको नतिजा ननिस्किएपछि पेनाल्टी सुटआउट गर्ने तयारी भए पनि साँझ परेकाले उक्त खेलको पेनाल्टी शनिबार बिहान हुने प्रतियोगिताका संयोजक फुर्वा तामाङले जानकारी दिए।

कार्तिक ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताबाट दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने पुरुष फुटबल खेलाडी छनोट गरिने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए। प्रतियोगिताको प्राविधिक सहयोग कोशी प्रदेश फुटबल संघले गरेको छ।




