धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज शनिबार बस्ने मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ।
नेकपा (एमाले) र नेकपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको मधेश प्रदेश सरकारको नेतृत्व गरिरहनुभएका मुख्यमन्त्री यादवले कानुन बमोजिम ३० दिनभित्र विश्वासको मत लिन लाग्नुभएको हो।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नका लागि कार्तिक २८ गते शनिबार दिउँसो १ बजे विश्वासको मत लिने व्यवस्था मिलाउन मुख्यमन्त्री यादवले प्रदेश सभा सचिवालयलाई पत्र पठाउनु भएपछि उहाँले मागेको समयबमोजिम प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठकको आह्वान गरिसकेको प्रदेश सभा सचिवालयले जनाएको छ।



मधेश प्रदेश सभामा १०७ मध्ये हाल १०३ जना प्रदेश सभा सदस्य कायम रहेका छन्। बहुमतका लागि ५२ जना प्रदेश सभा सदस्यको आवश्यकता रहेको प्रदेश सभा सचिवालयका सचिव बासु कोइरालाले जानकारी दिनुभयो।
प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा (एमाले)का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद रहेका छन् ।
प्रदेशसभाको अंकगणितअनुसार कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३० सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ । यस्तो अवस्थामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी तथा अन्य साना दलको भूमिका निर्णायक हुने देखिएको छ ।
आज हुने विश्वासको मतसम्बन्धी मतदानले वर्तमान सरकारको निरन्तरताको टुङ्गो लगाउनुका साथै मधेश प्रदेशको आगामी राजनीतिक तथा सत्ता समीकरण समेत निर्धारण गर्नेछ ।




