धनुषा। मधेशको जीवनरेखाका रूपमा रहेको हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि अलपत्र रहेको पुलको पुनर्निर्माण कार्यले गति लिएसँगै आगामी मङ्सिरको पहिलो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
हुलाकी सडक निर्देशनालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोका अनुसार पुलमा रेलिङ लगाउने काम भइरहेको छ। बाँकी रहेका अन्तिम निर्माण कार्यलाई तीव्रता दिइएको र निर्धारित समयभित्रै पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो।



भौतिक पूर्वाधार मन्त्रालयले पुल पुनर्निर्माण तथा सञ्चालनका लागि निरन्तर चासो देखाएपछि निर्माण कार्यले गति लिएको प्रमुख महतोको भनाइ छ।
विसं २०६८ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २४ करोड ९१ लाख रुपियाँमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो। सुरुमा पप्पु कन्स्ट्रक्सनले ठेक्का पाए पनि समयमा काम अघि बढाउन नसकेपछि निर्माणको जिम्मेवारी लुम्बिनी बिल्डर्सलाई दिइएको थियो।
निर्माण कार्य सम्पन्न भई उद्घाटनको मितिसमेत तय भइसकेको अवस्थामा २०७८ असार १७ गते आएको बाढीले पुलका पूर्व र पश्चिमतर्फका पाया भासिएपछि सञ्चालनमा आउन सकेको थिएन। पुल सञ्चालनको अन्तिम तयारी भइरहेका बेला बाढीले क्षति पुर्याएपछि सिरहा र धनुषाका स्थानीयवासीले लामो समयदेखि आवागमनमा सास्ती बेहोर्दै आएका थिए।
जेनजी आन्दोलनपछि गठन भएको सरकारले पुल पुनर्निर्माण र सञ्चालनलाई प्राथमिकतामा राखेपछि चालु आर्थिक वर्षमा भासिएका पाया पुनर्निर्माण तथा पुल सञ्चालनका लागि २५ करोड रुपियाँ विनियोजन गरिएको थियो। सोही बजेटबाट पुनर्निर्माणको काम अघि बढाइएको हो।
हाल पुलका तीनवटा पाया र स्ल्याब निर्माण तथा ढलानको काम सम्पन्न भइसकेको छ। त्यस्तै, नदीको बहावलाई डाइभर्सन गरी पुलमुनिबाट पानीको सहज निकास मिलाउने कामसमेत पूरा भएको निर्देशनालयले जनाएको छ। अहिले रेलिङ जडानलगायतका अन्तिम काम भइरहेको छ।
कमला पुल सञ्चालनका लागि सिरहा क्षेत्र नं. १, २, ३ र ४ का सांसदहरू बब्लु गुप्ता, शिव यादव, शम्भु यादव र तपेश्वर यादवले सम्बन्धित निकायको निरन्तर ध्यानाकर्षण गराउँदै आउनुभएको छ।
कमला पुल सञ्चालनमा आएपछि सिरहा र धनुषासहित मधेशका विभिन्न जिल्लाबीचको आवागमन सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी हुलाकी सडक हुँदै यात्रा गर्ने सर्वसाधारण, किसान, व्यापारी तथा यातायात व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्नेछ। लामो समयदेखि अवरुद्ध रहेको सडक सम्पर्क पुनः स्थापित हुँदा स्थानीय व्यापार, कृषि उपजको ढुवानी र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।




