जनकपुरधाम, २८ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू अध्यात्ममा विश्वास गर्ने भएकाले छठ पर्वका विधि तथा प्रक्रियामा सहभागी हुन श्रीमतीसहित जनकपुरधाम आएको बताएका छन् ।
शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले जनकपुरधामको छठ पर्वले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउँदै गएको अवस्थामा यसको भव्यता र धार्मिक महत्त्वलाई प्रत्यक्ष अनुभव गर्न आफू आएको बताए ।
महापर्वका रूपमा स्थापित छठ पर्वमा सहभागी हुन पाउनुलाई आफूले सौभाग्यका रूपमा लिएको उनको भनाइ थियो ।



आफूहरू अध्यात्ममा विश्वास गर्ने भएकाले छठ पर्वका विभिन्न विधि तथा प्रक्रियामा सहभागी हुने उद्देश्यले श्रीमतीसहित जनकपुरधाम आएको उनले स्पष्ट पारे ।
यसअघि पनि विभिन्न धार्मिक तथा आध्यात्मिक पीठ र अनुष्ठानहरूमा सहभागी हुँदै आएको उल्लेख गर्दै आफ्नो धार्मिक आस्थालाई अन्यथा रूपमा नलिन उनले आग्रह गरे ।
सभापति लामिछानेलाई स्वागत गर्न जनकपुरधाम विमानस्थलमा स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता, रास्वपा नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य मनिष झा, पूर्वमन्त्री बब्लु गुप्तासहित प्रतिनिधिसभा सदस्य, पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो ।
जनकपुरधामको ऐतिहासिक गंगासागरलगायतका पोखरी तथा जलाशयमा छठ पर्वको तयारी भइरहेका बेला लामिछानेको आगमनलाई धार्मिक तथा राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।
https://todayawaj.com/wp-content/uploads/2026/11/VID-20261114-WA0034.mp4?_=1




