महोत्तरी – तराई–मधेशसहित देशभर श्रद्धा,आस्था र भक्तिपूर्वक मनाइने लोकआस्थाको महापर्व छठको मुख्य दिन आज आइतबार(कात्तिक २९) अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ। सूर्यदेवको उपासना,आराधना र पूजामा आधारित चार दिन लामो छठ पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको हो।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतालुले नहाय–खाय विधि पूरा गरेका थिए। दोस्रो दिन शनिबार खरना विधि सम्पन्न गरेका व्रतालुले आज षष्ठी तिथिमा दिनभर निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन्। पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ।



तराई–मधेशमा विशेष महत्वका साथ मनाइने छठ पर्व पछिल्लो समय राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा समेत व्यापक रूपमा मनाउन थालिएको छ। यस पर्वमा व्रतालुले नदी, पोखरी, तलाउ तथा जलाशयका किनारमा घाट निर्माण गरी केराको घरी, नरिवल, उखु, स्याउ, सुन्तला, ठकुवा, भुसुवा लगायतका प्रसाद सामग्री चढाएर सूर्यदेव र छठी माताको पूजा गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार छठ पर्वमा श्रद्धापूर्वक व्रत तथा पूजा आराधना गरेमा दुःख,दरिद्रता र रोगव्याधिबाट मुक्ति मिल्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने विश्वास गरिन्छ। सन्तानको दीर्घायु, पारिवारिक कल्याण र मनोकाङ्क्षा पूरा हुने कामनासहित महिला तथा पुरुष दुवैले यो व्रत गर्ने गरेका छन्।
ऐतिहासिक तथा पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए। त्यसबेलादेखि छठ पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास रहेको छ।
त्यसैगरी, सूर्य पुराणअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेकी थिइन्। व्रतको प्रभावस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक कथन छ। पुराणमा भगवान् श्रीकृष्णका पुत्र साम्बले कुष्ठरोगबाट मुक्ति पाउन सूर्यदेवको आराधना गरेको प्रसङ्गसमेत उल्लेख छ।
वैज्ञानिक दृष्टिकोणबाट समेत सूर्यलाई पृथ्वीमा जीवनको प्रमुख आधार मानिन्छ। सूर्यको प्रकाश र तापबिना वनस्पति, जीवजन्तु तथा समग्र जैविक अस्तित्व सम्भव नहुने भएकाले छठ पर्वलाई प्रकृति र सूर्यप्रतिको सम्मानका रूपमा समेत लिने गरिन्छ।
व्रतविधिअनुसार छठ पर्वको पहिलो दिन कार्तिक शुक्ल चतुर्थीमा व्रतालुले स्नान गरी चोखो भोजन गरेर नहाय–खाय विधि पूरा गर्छन्। दोस्रो दिन पञ्चमीमा दिनभर उपवास बसेर साँझ सखरमा पकाइएको खीरलगायत प्रसाद ग्रहण गर्ने विधिलाई खरना भनिन्छ। खरना सम्पन्न गरेपछि व्रतालुले षष्ठीको बिहानदेखि सप्तमीको बिहानसम्म कठोर निराहार व्रत बस्ने परम्परा छ।
षष्ठीका दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने रातभर जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत सम्पन्न हुन्छ। धार्मिक विश्वासअनुसार विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने जनविश्वाससमेत रहेको छ।
विसं २०४६ अघिसम्म तराई–मधेशका सीमित क्षेत्रमा मात्र विशेष रूपमा मनाइने छठ पर्वले अहिले राष्ट्रिय पर्वको स्वरूप ग्रहण गरेको छ। यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने परम्परासमेत कायम गरेको छ।
छठ पर्वका अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी,गौरीघाट,गहनापोखरी,नागपोखरी,कमलपोखरीलगायत वाग्मती,नख्खु र विष्णुमती नदी किनारमा समेत विशेष सजावट गरिएको छ। तराई–मधेशका गाउँबस्तीमा भने पोखरी,नदी तथा जलाशयका घाटलाई सरसफाइ गरी आकर्षक रूपमा सजाइएको छ। पर्वका अवसरमा गाउँदेखि सहरसम्म भक्तिमय वातावरण बनेको छ।




